उहिलै उहिलै – बलराम तिमल्सिना

२०७६ भाद्र ३१ गते, मंगलवार

उहिलै उहिलै
मान्छेहरू पनि पशुजस्तै थिए !

चार खुट्टा नै टेकेर हिड्थे
भाषा थिएन
लत्ता कपडा पनि थिएनन्
मान्छे नाङ्गा नाङ्गै थियो
तै पनि ती सुन्दर थिए !

जसरी आज
कपडा नलगाएको कारण
चराहरू कुरुप देखिदैनन्
जसरी आज
कट्टु नलगाएको कारण
बाख्राका पाठाहरू अश्लिल देखिन्नन्
फूलहरू , माछाहरू
पहाड, हिमाल या वादल
सवै नाङ्गा नाङ्गै छन्
तै पनि ती सुन्दर देखिन्छन् !

धेरै पछि
हो धेरै पछि
पशु जगतबाट छुट्टियो एउटा पशु
त्यसपछि ऊ मान्छे भयो !

मान्छे भैसकेपछि पनि
अझै ऊ नाङ्गै थियो
ता ता तु तु भाषा सिक्दै थियो
सायद पहिलो पटक आमा भन्न सिक्यो !

कपाल काट्ने कि पाल्ने ?
उतिबेला कसैले सोचेन
सोच्न जरुरी पनि थिएन
सोचे पनि विचराले
काट्ने औजार पनि थिएन
यी गहना गुरियाहरू
कुनै अज्ञात खानीमै थिए !

पहिलो पटक
जव आमाहरू सत्ताच्युत भए
सायद त्यतै कतैबाट होला
आइमाईले कपाल पाल्ने कानून बनेको
जगल्ट्याउँन सजिलो होस भनेर !

आज,
तिम्रो लामो कपालको
सवैभन्दा असल प्रेमी को होला ?
तिमीलाई जगल्ट्याउँने लोग्ने ,
स्याम्पूको उद्योगपति
या
जुम्रा मार्ने ओखतीको व्यापारी ?

उहिलै उहिलै
कपाल कुनै विशेष चिज थिएन !

प्रतिक्रियाहरु