‘उनी मरेका छैनन’ नाटक प्रकाशित

२०७२ माघ २३ गते, शनिबार

प्रगतिवादी नाटककार खेम थपलियाद्वारा लिखित ‘उनी मरेका छैनन्’ नाट्यकृति बजारमा आएको छ । प्रस्तुत नाट्यकृतिमा आफ्ना बाबा कृष्ण सेनको सहादतसम्बद्ध घटनालाई तत्सम्बद्ध पात्रहरू अनि बाबासँग गाँसिएको आफ्नो अतीतलाई छोरी समीक्षाले एक रात सम्झिन थाल्छिन् । विशेषतः २०५९ जेठ ६ गते काठमाडौंको मध्यबानेश्वरबाट गिरफ्तार गरी तत्कालीन महेन्द्र पुलिस क्लबको यातनागृहभित्र ७ दिनसम्म दिइएको निर्मम यातना, अमानवीय दुव्र्यवहार आदिलाई वर्तमानकी तन्नेरी समीक्षाले बिर्सन सकिरहेकी छैनन् । सम्झनेक्रममा इच्छुकले दैनिक जीवनमा प्रयोग गर्ने गरेका कलम, पुस्तक, झोला, लुगा र इच्छुक हत्या सम्बन्धी समाचार पहिलो पटक प्रवाह गर्ने जनआस्था साप्ताहिक प्रस्तुत नाटकका मूल दृश्य विधान बनाइएका छन् । सातदिने हिरासतका क्रममा कठोर यातनाका बाबजुद इच्छुकले प्रस्तुत गर्नुभएको उच्च साङ्गठनिक अनुशासन, वैचारिक दृढता समग्रमा विशुद्ध क्रान्तिकारी चरित्र निर्वाह तथा क्रान्तिकारी आन्दोलनभित्र जन्मिएका पात्र, मनस्थिति आदिलाई पनि नाटकले उजागर गरेको छ । नाटकको कथा सत्य घटनामा आधारित छ । यो क्रान्तिकारी भावधारामा सिर्जित ऐतिहासिक नाटक हो । यहाँ दृश्य, बन्दी तथा उच्च प्रहरी अधिकृतहरूको नाम काल्पनिक छैनन् । केवल मञ्चमा चारित्रिक अभिनय गर्ने कलाकारहरू र केही संवाद नाट्य रूपान्तरणका क्रममा प्रस्तुत भएका छन् ।
‘उनी मरेका छैनन्’ नाटक सांस्कृतिक योद्धा, कवि तथा सहिद कृष्ण सेनको उदात्त जीवन र बलिदानको गाथालाई समेटेर यो नाटक तयार पारिएको हो । ६ दृश्यमा संरचित यो नाटकमा सूत्रधार समीक्षा, सेन, तिवारी, प्रभात, भरत, अतीन्द्र, सङ्गीता, डीएसपी, डिआएजी, बन्दीहरू, प्रहरीहरू र अन्य केही पात्रहरूको प्रबन्ध गरिएको छ । यहाँ पार्टीभित्रैका केही मानिसका गद्दारीका कारण इच्छुक पक्राउ परेको र प्रहरीको चरम यातनाबाट सहादत भएको जमिनी यथार्थलाई देखाइएको छ । नाटकमा समीक्षा बारम्बार आफ्ना बाबा इच्छुकलाई सम्झिरहन्छिन् । ह्वाइट हाउस कलेजको एक कोठा रहेका इच्छुकलाई ‘पार्टीको कामले जसरी पनि भेट्नु छ । पार्टी र क्रान्तिका लागि ठूलो क्षति हुनेवाला छ, यो खबर नपु¥याए …’ भनिएपछि विश्वासमा परेर इच्छुक बाहिर निस्कँदा पक्राउ परेको विषयलाई नाटककीकरण गरिएको छ । आँखामा कालो पट्टी कसिएको, दुबै हात पछाडि लगेर बाँधिएको र कालो कपडाले मुख छोपिएको अवस्थामा आकासे रङको सर्ट र खरानी रङको पाइन्ट लगाएका सेनलाई रक्सीले मात्तिएका प्रहरीले चरम यातना दिन्छन् । “तँ कस्तो खालको ठकुरी होस् ? ठकुरी भएर पनि आतङ्ककारी बन्ने ? हेर्, म जस्तो ठकुरी हुनुपर्छ । मैलै ठकुरी महाराजाको कसरी सेवा गरिरहेको छु ?” जस्ता कुराहरू इच्छुकसित प्रहरी अधिकृतद्वारा भनिन्छ । देश र जनताका खातिर मुक्तिमार्गमा अविचलित हिँडिरहेका इच्छुकलाई यस्ता कुराले प्रभाव पानै कुरै थिएन । परिणामतः उनले त्यहाँ सम्झौता गर्दैनन् । उनले आफ्नै वर्गीय अडान कायम गरेका छन् । वास्तवमा इच्छुकहरू काँडाको जङ्गल फाड्दै फुलैफूलको सभ्यता हुर्काउन, औँसीको रात चिर्दै सुनौलो प्रभात ल्याउन महासमरमा यात्रारत स्पार्टाकस थिए भन्ने कुरालाई यहाँ नाट्य–कलाद्वारा समृद्ध गर्ने प्रयास गरिएको छ । यसको साथै, प्रहरी क्याम्पभित्र पनि माओवादीहरूलाई माया गर्ने प्रहरीहरू पनि छन् भन्ने कुरा पनि देखाइएको छ । यो माओवादी सिद्धान्त, आन्दोलन र उद्देश्य सही एवम् वैज्ञानिक थिए भन्ने कुराको द्योतन पनि हो । इच्छुकको स्वार्थ देश र जनताको हितबाहेक अरू केही थिएन । क्रान्तिकारीहरू फलामले बनेका मान्छे हुन् । उनीहरू सिद्धिन तयार हुन्छन् तर बेचिँदैनन् । उनीहरू मट्टीमा मिल्न तयार हुन्छन् तर देश र जनतालाई धोका दिन सक्तैनन् । क्रान्तिकारीहरूको भौतिक शरीर गल्न सक्छ तर विचार कहिल्यै गल्दैन भन्ने कुरा यहाँ उनले प्रमाणित गरिदिएका छन् । प्रतिक्रियावादी शासकद्वारा इतिहासमा सभ्यता, मर्यादा र शालीनताको हत्या हुँदै आएको छ । नेपाल कुनै राजा महाराजाले बनाएको होइन, नेपाली जनताले बनाएको हो । यो जनताको रगत पसिनाले बनेको देश हो भन्ने जस्ता कुराहरूलाई नाटकमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ ।
नाटकको अन्तिममा सूत्रधार समीक्षा अर्थात् जो इच्छुककी छोरी मात्र नभएर आम मुक्तिकामी जनताकी छोरीका रूपमा इच्छुकले प्रयोग गर्ने गरेको झोला उठाउँदै “… यो झोला अब तपाईंंको व्यक्तिगत रहेन कमरेड किनकि यो जनयुद्धको जीवित प्रतिबिम्ब हो, शोषित पीडित आम जनसमुदायको मुक्तिकामी झोला हो” भन्दै क्रान्तिको पूर्णताका साथै, इच्छुकको सपना पूरा गर्नका निम्ति आह्वान् गर्दै नाटकको अन्त्य भएको छ । नाटकको अन्त्यमा कृष्ण सेन ‘इच्छुक’ की छोरी समीक्षालाई आम नेपाली मुक्तिकामी जनसमुदायकी छोरीको रूपमा साधारीकरण गरिएको छ । यहाँ यो नाटकले बलिदानको मूल्य स्खलित हुँदै गएको वर्तमानमा बलिदानको मूल्यबोध गराउने र निरन्तर क्रान्तिको मार्गमा अग्रसर हुने आकाङ्क्षा प्रतिबिम्बित हुने अपेक्षा गरेको छ । इच्छुकको बलिदानी चरित्रको नाट्यकरणबाट जनवादी क्रान्ति पूरा गर्न बलिदान, त्याग, तपस्या र वीरताको सौन्दर्य चेतना प्रसारित गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको उक्त नाटकले क्रान्ति, बलिदान र सहिदी मूल्यको प्रचार गर्दै नेपालको ऐतिहासिक नाट्य–परम्परामा नयाँ यथार्थको आत्मसातीकरणका माध्यमबाट शून्यवाद, निराशावाद र आत्मसमर्पणवादका विरुद्ध क्रान्तिकारी आशावादको प्रवर्तनको अपेक्षाका साथ यसको लेखन, परिमार्जन र परिष्कार गरिएको हो । यसको प्रकाशन पनि यही अन्तर्वस्तुमा आधारित रहेको देखिन्छ ।
यसको नाट्यशक्तिबारे विभिन्न विद्वान् लेखक तथा साहित्यकारहरूले दिनुभएको धारणालाई यो पुस्तकको प्रविष्टि खण्डमा स्थानापित गरिएको छ । यो नाटकबारे विभिन्न सञ्चार माध्यमहरूमा आएका टिप्पणीलाई पनि छुट्टै प्रविष्टि खण्डमा व्यवस्थापन गरिएको छ । नाटकको अवलोकनपछि विभिन्न पार्टीका नेता, कार्यकर्ता, नाटकप्रेमी तथा अन्य मित्रहरूबाट आएका महत्वपूर्ण सुझाव÷टिप्पणी र नाटकका प्रतिनिधिमूलक तस्बिरहरूलाई पनि अर्को स्थानमा प्रविष्टि प्रदान गरिएको छ ।
रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुन जन्माए जस्तै दस वर्षको महान् जनयुद्धले नेपालमा कृष्ण सेन ‘इच्छुक’ जन्माएको कुरामा कुनै सन्देह छैन । नेपालको नयाँ जनवादी क्रान्तिलाई सम्पन्न गर्ने महाअभियानमा इच्छुकको योगदान विेशेष प्रेरणा र मार्गदर्शन बन्नेछ । इच्छुक जीवितै छन् । उनी मरेका छैनन् । इच्छुकहरू कहिल्यै मर्दैनन् । कृष्ण सेन इच्छुक युगयुगसम्म बाँचिरहने व्यक्तित्व हुन् । इच्छुकजस्ता नायकहरू युगयुगसम्म बाँचिरहनेछन् । उनी मर्दैनन् र मरेका छैनन् पनि । वास्तवमा पत्रकार तथा कवि कृष्ण सेनको बलिदान गाथामा आधारित यो नाटक वर्ग सङ्घर्षका विभिन्न मोडहरूमा जनताका महान् बलिदान, त्याग, तपस्या र उत्सर्गका उच्चतम् साक्ष्य पनि हो । ब्रदर्स पब्लिकेसनले प्रकाशित गरेको यो नाट्यकृतिको मूल्य रु. २००÷– मात्र रहेको छ ।

प्रतिक्रियाहरु