ईमेज अवार्ड हुँदै

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौं, ८ असोज । नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले हरेक बर्ष गरिंदै आएको ईमेज अवार्ड आयोजना हुँदैछ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव ईमेज अवार्ड संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने गरिएको छ । २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत संगीतलाई १८ औं ईमेज अवार्डमा समावेश गरिने छ ।
चार वटा म्युजिक भिडियो, चार लोक, चार सामान्य र १० विशेष समूह गरी जम्मा २२ विधामा यो अवार्ड दिइन्छ । यी सबै विधामा फाराम भरेका चर्चित गीतमा एसएमएस भोटिङद्वारा पब्लिक च्वाइस अवार्ड वितरण गरिन्छ । हरेक बर्ष झैं यस बर्ष पनि २३ विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मण्डलबाट र एस.एम.एसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिने छ ।
ईमेज अवार्डमा गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउने एक जना कालजयी श्रष्टालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने परिपाटी अनुसार यस बर्ष सर्जक एवं वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई सम्मान गरिंदैछ । दिउँसो साढे २ बजेदेखि त्रिभुवन आर्मी अफिर्सस क्लब भद्रकालीमा शुरु हुने ईमेज अवार्डको ईमेज च्यानल, इमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खवर डटकमबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

प्रतिक्रियाहरु