असमन्जस – बलराम तिमल्सिना

२०७५ भाद्र २ गते, शनिबार

धेरै पहिलाको कुरा हो , जतिवेला
कमरेडले सिकाउँनु भएको थियो –
“शासकहरू आगोसँग डराउँछन ”
हिजो आज मेरो कमरेड
डराउँन थाल्नु भएको छ आगोसँग
म असमन्जसमा छु ,
आगो प्रतिकृयावादी भयो अचेल
या कमरेड शासकमा वदलिनु भयो ?

त्यति वेलैको कुरा हो , जतिवेला
यिनै कमरेडले सिकाउँनु भएको थियो-
“शासकहरू आन्दोलनसँग डराउँछन् ”
ढुङ्गामा लेखिएजस्तै छन् यादहरू
सडकमा सानो जुलुस निस्के पनि
मेरो कमरेड सिरक ओढ्नु हुन्छ अहिले
म फेरि अलमलमा परेको छु
आन्दोलन पश्चगामी भयो अचेल
या मेरो कमरेड सत्ताको नोकर बन्नु भयो ?

मैले ढाँटेको हैन साथी
यिनै कमरेड हुन हिजो
मलाई भन्थे –
यी हेर ! यी हम्म दारी जुँगा भएका बुढाहरू
एउटा मार्क्स हुन , अर्का एङ्गेल्स हुन
यी बोके दारी भएको मानिस लेनिन हुन
घोप्टे जुँगा भएको
आर्मीजस्तै अनुहारको मानिस स्टालिन हुन
अनि यी तालु खुइलिएका मानिस चाहिं
हाम्रै हिमालपारिका माओ हुन
यिनीहरू हाम्रा मुक्तिदाता हुन ।

म पागल प्रेमीले झैं
लोभिदै हेर्थें र चुम्ने गर्थें ती तस्विरहरू
ती कमरेड पनि त्यसै गर्थे ।

समयको क्रुर सुरुङ्गबाट निस्केपछि अचेल
पुराना तस्वीरहरू कुनामा लुकाएर
मेरो कमरेडले कोठामा
टाँग्नु भएको छ सन्निलियोनको तस्विर
मादक आँखाले हेर्दै छिल्लिदै
मेरो कमरेड चुमिरहेका देख्छु दैनिक
त्यही सन्निलियोनको तस्विर ।

म लगभग पागल बनेर सोच्दै छु –
सन्निलियोन क्रान्तिकारी बनिन
या मेरो कमरेड सेक्सी बन्नु भयो ?

दक्षिणी हावाले घर उडाएको यो मौसममा
मेरो कमरेड आँगनमा निस्केर
छमछमी नाचिरहेछन
मानौं वर्षौंको कमरेडको सपना पूरा भएको छ ।

मेरो सपनाको चिहानमाथि
मेरै कमरेड नाँच्न थालेपछि
मेरो मन पटच्कै थिरमा छैन
म गौर गरेर सोच्दै छु
को बहुलायो यथार्थमा –
मेरो कमरेड कि म ?

प्रतिक्रियाहरु