अलपत्र परेका नेपाली कामदारको उद्दार

२०७५ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं, २२ जेठ । कतारस्थित प्रवासीहरुको संगठन जनप्रगतिशील मोर्चाले अलपत्र परेका एक नेपाली कामदारको उद्दार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाले वैदेशिक रोजगारीको क्रममा कतार पुगेका दाङका तेजबहादुर चौधरीको उद्दार गरेको हो । तुल्सीपुर नगरपालिका–११ बेलगनारका चौधरी काठमाडौंस्थित पगेणी मेनपावरबाट कतारको दोहा स्थित सैलियाको एक कास्टल कम्पनीमा लामो समयदेखि काम गर्दै आएका थिए । तर, उक्त कम्पनीले चौधरीको श्रम शोषण गर्दै पारिश्रमिक समेत दिएको थिएन ।
विगत चार महिनादेखिको पारिश्रमिक नदिएको उक्त कम्पनीले चौधरीको उपचारको समेत बेवास्ता गर्दै आएको थियो । कमकै क्रममा उनको खुट्टामा गम्भीर चोट लागेको थियो । कम्पनीले आफूले उपचार पनि नगर्ने र पारिश्रमिक पनि नदिएको चौधरीले बताए ।
नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाको पहलमा हालसम्मको पारिश्रमिकसहित कम्पनीबाट चौधरीको उद्दार गरिएको छ । उनलाई कम्पनीबाट बाहिर जान समेत दिएको थिएन । उद्दारपछि चौधरीले आफू नरकबाट छुटकरा पाएको बताउँदै पहल गर्ने मोर्चालाई धन्यवाद दिए ।’मलाई लामो समयदेखि यातनासहित कम्पनीभित्रै बन्धक बनाइएको थियो, उपचार समेत गरिएको थिएन, कतारमा रहेको विप्लव दाईको पार्टीका साथीहरुले अहिलेसम्मको पारिश्रमिकसहित नरकजस्तै बनेको उक्त ठाउँबाट बाहिर निकालेको छ’ चौधरीले भने । खुशी हुँदै चौधरीले छिट्टै नेपाल फर्किने बताए । त्यसैगरी मोर्चाले चौधरीलाई फसाएर कतारबाट पठाउने मेनपावर कम्पनीलाई कारवाहीको लागि नेपालस्थित नेकपालाई सिफारिस समेत गरेको छ ।

प्रतिक्रियाहरु