अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि

२०७६ चैत्र १३ गते, बिहीबार

काठमाडौ, १३ चैत । अमेरिकाले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी–७ मा विवाद बढेको छ । कोरोनाभाइरस सम्बन्धी सात राष्ट्रका विदेश मन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अमेरिकी विदेश विभागको अडानका कारण सयुक्त बक्तव्य जारी हुन पाएन ।
‘वुहान भाइरस’ भन्ने शब्द लेख्नुपर्ने अमेरिकी दबाबलाई अरु देशले अस्वीकार गरेपछि समूहमा विभाजन आउनुका साथै वक्तव्य नै अलग्गै आएको छ ।
अमेरिकी विदेश विभागको सुझाव रातो रेखा भएको र यसरी भाइरसको ब्राण्डिङ गरेर सूचना प्रवाह गरिने विषयसँग सहमत हुन नसकिने एक यूरापेली कूटनीतिज्ञले बताएको सिएनएनले उल्लेख गरेको छ ।
अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको ती कूटनीतिज्ञले बताएको सीएनएनको समाचारमा छ ।तर विश्व स्वास्थ्य संगठनले स्पष्ट र आधिकारिक रूपमा यसलाई कोविड १९ वा कोरोना भाइरस भनिसकेको छ ।
अमेरिकाले मस्यौदा गरी अरु सात देशका विदेश मन्त्रीहरुलाई पठाएको १२ अनुच्छेदवाला वक्तव्यमा कोरानालाई ‘वुहान भाइरस’ भनिएको थियो । अमेरिकी अध्यक्षतामा गठबन्धनको बैठक गरिएकाले वक्तव्य मस्यौदा गर्ने जिम्मेवारी पनि उसैको थियो । जी सेभेनमा अमेरिकासहित बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा सदस्य छन् । तर यस्तो मस्यौदा आएपछि अरु परराष्ट्र मन्त्रीहरूले भने आ–आफ्नै ढंगले बैठकबारे वक्तव्य जारी गर्नुपरेको सिएनएनले जनाएको छ ।कोरोनालाई अमेरीकी राष्ट्रपति ट्रम्पले वुहान भाईरस, चीनीया भाईरस नाम लिदै आएका छन् । -एजेन्सी।

प्रतिक्रियाहरु