अझै केही दिन झरी पर्न सक्ने

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौं, १० साउन । मौसमविदका अनुसार बिहान र दिउँसोपख मौसम सफा रहेपनि राति पानी पर्ने क्रम अझै केही दिन रहने छ । मनसुन सक्रिय नभएपनि केही दिनदेखि बेलुकीपख र राति ठूलो पानी पर्ने गरेको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार भारतमा मनसुन सक्रिय हुँदा नेपालमा कमजोर हुने भएकाले सोमबारसम्म बिहान मौसम सफा भएपनि दिउँसोपछि पानी पर्ने अनुमान गरिएको छ । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै हुँदा धेरै पानी परिरहने उहाँको भनाई छ । त्यो भारतमा हुँदा नेपालमा कम पानी पर्छ । अहिले त्यो रेखा भारततिर सरेकाले नेपालमा कम पानी परेको हो ।
तर वायुमण्डलमा जलवाष्पयुक्त हावा रहेकाले दिउँसोपछि बादल बनेर बेलुकीपख पानी पर्ने गरेको मौसमविद प्रधानाङ्गले बताए । उनका अनुसार यो भारतको मध्य प्रदेश आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको असर हो । अहिले तत्काल ठूलो पानी पर्ने संभावना कम रहेको उनको भनाई छ ।तर उत्तरी बंगालको खाडीमा बनिरहेको न्यूनचापीय प्रणाली पश्चिममा सर्‍यो भने पूर्वी नेपालमा पानी पर्छ । बेलुकीपख भने मध्य र पश्चिम क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना छ । पूर्वका थोरै ठाउँमा दिउँसोपछि पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु