संविधानले प्रत्याभूत गरेका स्वतन्त्रतालाई सम्मान गर्न माग

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक । क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले संविधानले प्रत्याभूत गरेका प्रेस, अभिव्यक्ति र आस्थाको स्वतन्त्रतालाई सम्मान गर्न माग गरेका छन । अध्यक्ष चलाउनेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै खुल्लमखुल्ला सरकार र राज्यका अन्य निकायबाट भइरहेका मानव अधिकारका उल्लंघन, मौलिक अधिकारमाथिको हस्तक्षेप तथा गैरकानुनी गिरफ्तारीका विरुद्ध आवाज उठाउन सम्पूर्ण पत्रकार संघ संगठन, मानवअधिकारकर्मी, कानुन व्यवसायीलाई आग्रह समेत गरेका छन । साथै उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तको कार्यालय, अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाको पनि यसतर्फ ध्यानाकर्षणसमेत गराएका छन ।
यस बिषयमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण बिबरण यस परका रहेको छ – ” सरकारले देशभर पत्रकार र सर्वसाधारण नागरिकलाई अनाहकमा स्वेच्छाचारीपूर्ण गिरफ्तार गर्ने श्रृङ्खलाकोे सुरुवात गरेको छ । पत्रकारहरुका घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको खबर देशका विभिन्न भागबाट आएका छन् । यसैक्रममा प्यूठानबाट प्रकाशित भइरहेको ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई प्रहरीले विना कारण गिरफ्तार गरेको छ । प्यूठानको ठूलोवेसीमा रहेको विद्यालयमा अध्यापन समेत गर्ने पत्रकार आचार्यलाई ठूलोवेसीमा आफ्नै कोठामा बसिरहेको बेला पक्राउ गरिएको छ भने श्रीमतीलाई उपचारका लागि अस्पताल पुगेका पत्रकार पोख्रेललाई प्यूठानको विजुवारबाट पक्राउ गरिएको छ । नेपाल पत्रकार महासंघकाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सदस्य रहनुभएका पत्रकारद्वयलाई गरिएको यो गैरकानुनी तथा स्वेच्छाचारपूर्ण गिरफ्तारीको हाम्रो संगठन घोर भत्र्सना गर्दछ । साथै उहाँहरुलाई तत्काल रिहा गर्न माग गर्दछ ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे र जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले सिधै आदेश दिएर पत्रकारद्वय आचार्य र पोखरेललाई पक्राउ गरिएको थाहा भएको छ । राज्यको जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले यसरी पत्रकारले लेख्न र बोल्न पाउने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुका साथै उहाँहरुको मानवअधिकारको समेत गम्भीर उल्लंघन गर्नु निन्दनीय छ । यस खालका स्वेच्छारपूर्ण गिरफ्तारी र धरपकडका समाचार देशका अन्य भागबाट पनि आएका छन् । साथै केही पत्रकारहरुलाई गिरफ्तार धम्की तथा मनोवैज्ञानिक यातना दिने काम पनि राज्यका माथिल्लो निकायमा बसेका व्यक्तिहरुबाट भइरहेको छ । यसबाट नागरिकको निर्भयपूर्वक बाँच्न पाउने, पेशा व्यवसाय अंगाल्न पाउने जस्ता संविधानले नै प्रत्याभूत गरेका आधारभूत मौलिकको गम्भीर उल्लंघन भएको छ । संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ ।
सरकार निरन्तर निरङ्कुश बन्दै गएको यी घटनाले पुष्टि गरेको छ । हामी सरकारलाई संविधानले प्रत्याभूत गरेका प्रेस, अभिव्यक्ति र आस्थाको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दछौै । साथै खुल्लमखुल्ला सरकार र राज्यका अन्य निकायबाट भइरहेका यस खालका मानव अधिकारका उल्लंघन, मौलिक अधिकारमाथिको हस्तक्षेप तथा गैरकानुनी गिरफ्तारीका विरुद्ध आवाज उठाउन हामी सम्पूर्ण पत्रकार संघ संगठन, मानवअधिकारकर्मी, कानुन व्यवसायीलाई आग्रह गर्दछौ । साथै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तको कार्यालय, अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाको पनि यसतर्फ ध्यानाकर्षण गराउँदछौ । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु