‘फर्जी समाचार’ बारेको कानूनलाई समीक्षा गरिन्छ’

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । नवनिर्वाचित मलेशियाली प्रधानमन्त्री महाथिर मोहमदले अघिल्लो सरकारले ल्याएको विवादास्पद झूठा समाचार कानूनबारे समीक्षा गर्ने प्रतिवद्धता जनाएका छन् । अप्रिलको शुरुतिर मलेशियाली पूर्व नेतृत्वले गलत सूचना फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ हुने कानून पास गरेको थियो ।
विपक्षी विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै मानव अधिकारवादीहरुले आलोचना गरेका थिए । मलेसियामा ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्न उक्त कानून ल्याएको भन्दै विरोध भएको थियो ।
प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरुपमा परिभाषित गरिने बताएका हुन् । प्रधानमन्त्री महाथिरले सही समाचारले सरकारलाई असहज गरेपनि आफूले प्रेसमाथि कुनै नियन्त्रण नगर्ने र पूर्ण प्रेस स्वतन्त्रताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । -एजेन्सी

प्रतिक्रियाहरु