देश र जनताको मुक्तिका लागि क्रान्तिकारीबीच सहकार्य र एकता अनिबार्य

२०८० चैत्र २१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक बिप्लव सीले सच्चा देश र जनताको मुक्तिका लागि क्रान्तिकारीहरुको सहकार्य र एकता अनिबार्य भएको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको आयाेजनामा भएको एकता तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सी ढिला नगरि ध्रुवीकरणमा लाग्नुपर्ने र यसको लागि नेकपा एकताको सेन्टर भएको र एकताको मूल एजेन्डा वैज्ञानिक समाजवाद भएको बताए । उनले देशमा वैदेशिक हस्तक्षेप बढिरहेको र साम्राज्यवाद जबर्जस्त प्रवेश गर्न लागेको र स्वदेशमा रहेका सामाजिक दलाल साम्राज्यवादका खेलौनाले जनताको बलिदानबाट आर्जित सम्पत्ति र उपलब्धिलाई अपराधिकरण गर्न खोजेको बेला देशलाई स्वाधीन बनाउन एकचोटी देशभक्त, वामपन्थी, राष्ट्रवादी लोकतन्त्रवादीहरु एक ठाउँमा आएर एकताबद्ध हुनुपर्नेमा जोड दिंदै अब यसको लागि मोर्चा सँगसँगै ध्रुवीकरण गरेर पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा एकता तथा ध्रुवीकरण कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी मजदुर संगठनबाट विद्रोह गरि रामचन्द्र थापा, राजकुमार मगर, सुमन बस्नेत, रमण तिमल्सिना, रमेश बस्नेत, विकास थापा, केशब बुढाथोकी, अरुण श्रेष्ठ, सुरेश खड्का, केशब महत, इश्वर कार्की, भिमकुमार थुलुङ, विजय बिष्ट, निरोज फुल्याल लगायत दुईदर्जन भन्दा बढि मजदुर केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरु नेकपामा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सीले टीका तथा खादा लगाएर स्वागत गरेका थिए ।
ध्रुवीकरणमा सहभागी मध्यबाट राजकुमार मगरले अनुभूतिसहित प्रतिबद्धता व्यक्त गर्नेक्रममा अबको देशको निकास दिने विचारसहितको पार्टी नेपाल कम्युनिस्ट पार्टी र गतिशील नेतृत्व विप्लव लगायतको टिम नै भएकोले आफुहरु विश्वस्त भएर लागेको र यो पार्टीको उत्पादन नीति र अनिश्चय तथा रुपान्तरणको सिद्धान्तले मन छोएको बताए ।
महासचिव विप्लवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थायी समिति सदस्यहरु सन्तोष सी, अनिल सी, सुशील सी लगायतका पोलिट ब्युरो सदस्य तथा केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष श्याम सीले गरेका थिए भने संचालन महासंघका महासचिव टेक सीले गरेका थिए ।

प्रतिक्रियाहरु