‘देशको अवस्था निकै तरल र गम्भीर ‘

२०८१ बैशाख १८ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशको अवस्था निकै तरल र गम्भीर मोडमा पुगेको ठोकुवा गरेका छन। सो पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पूर्णबैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको बताउदै भने – ‘विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्ने । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ। ’
महासचिव विप्लव सीले वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने बताए । उनले देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प अघि सारेको बताउदै भने- ‘पहिलो, संविधान परिवर्तन गरेर समाजवादी संविधान बनाउने । दोस्रो, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रहमा जाने । तेस्रो, जनवादी आन्दोलन गरी समाजवादी शक्ति निर्माण गर्ने । त्यसका लागि समाजवादी शक्तिको नेतृत्वमा सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने। ’
महासचिव विप्लव सीले नेकपाले २०८४ को निर्वाचनलाई समाजवादको अभियानका रूपमा उपयोग गर्ने नीति अघि सारेको बताए । उनले चुनावी मोर्चाको उपयोगबारे प्रस्ट पार्दै भने- ‘‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।’
महासचिव विप्लव सीले बैठकले देशको परिस्थिति अत्यन्तै अस्थिर र गम्भीर रहेको निष्कर्ष निकाल्दै एमसिसी, महँगी, भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको र आन्तरिक राजनीति निकै गिजोलिएको भन्दै यसले नेपालको अर्थतन्त्र, सांस्कृतिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव परिरहेकोबताए । उनले पार्टीले साम्यवादी व्यवस्था स्थापना गर्नका लागि चार मित्र शक्ति, चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा ल्याएको उल्लेख गर्दै चार मित्र शक्तिमा कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी रहेको बताए । साथै पार्टीले यी शक्तिलाई एक ठाउँमा ल्याउन जोड गर्ने निर्णय गरेको बताए ।
महासचिव विप्लव सीले चार मित्र वर्गमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग रहेको र ६ मित्र समुदायमा जनजाति, खस आर्य, श्रमिक समुदाय, मधेस, मुस्लिम र महिला रहेको उल्लेख गर्दै । उनीहरूसँगको सहकार्यमा मात्र नेपालको नयाँ राजनीतिक परिदृश्य निर्माण हुने बताए ।


यसैगरी, महासचिव विप्लव सीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई कानूनी दायराभित्र ल्याउनुपर्ने बताए । उनले एमसीसी परियोजनाविरुद्ध अदालतमा परेको रिटमा जवाफ दिने बेलामा एमसीए नेपालले नेपालको कानून नमान्ने भनेर दावी गरेको बताउँदै उसलाई कानूनी दायमा ल्याउन संघर्ष गर्ने निर्णय गरेको बताए । उनले एमसीसीलाई ठेगान लगाउन छुट्टै कानून बनाउन सरकारलाई दवाव दिने बताउदै भने- ‘यो एमसीसीले नेपाल कानून मान्दैन भनेर हामीले पहिला नै संघर्ष गरेका थियौं । हामीले यो संसदबाट पार नगर्न दवाव पनि दिएका थियौं । तर त्यतिबेला व्याख्यात्मक टिप्पणी भनेर एउटा टालोले लाज छोपियो । व्याख्यात्मक टिप्पणीले कानूनी मान्यता पाउँदैन । पाएको पनि छैन । त्यही भएर यसलाई कानूनी दायरामा ल्याउन नेपालको संसदले छुट्टै कानून बनाउनु पर्छ । त्यही कानूनमा दण्ड सजाएको पनि व्यवस्था हुनुपर्छ । एमसीसीले यो कानून नमाले त्यही अनुसार कारवाही हुनुपर्छ ।’

यसैगरी, महासचिव विप्लव सीले नेपालमा ६५ प्रतिशत जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट, समाजवादी, देशभक्त शक्ति, लोकतन्त्रवादी र चार मित्रवर्ग र चार मित्र शक्ति अनि ६ मित्रसमुदाहरुलाई साथमा लिएर समाजवादी अभियानमा लाग्नु पर्ने बताउदै भने- ‘हाम्रो केन्द्रीय समितिको बैठकले ४ मित्रवर्ग, ४ मित्र शक्ती र ६ मित्रसमुदायको पहिचान गरि सहकार्यको अवधारणा अघि सारेको छ। यी शक्तिहरुलाई साथमा नलिएर एक्लै समाजवादमा पुग्न नसकिने पार्टीको विश्लेषण छ।’
महासचिव विप्लव सीले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिलाई स्थापित गर्न क्रान्तिका सबै बाटोहरु खुल्ला गरि बिगतदेखि नै सफल प्रयोग गर्दै आएको बताए । उनले निर्वाचन बहिस्कारमा लाखौं जनताको सहभागी भए पनि पछि पार्टी र जनताको सम्बन्ध टुटेको स्मरण गर्दै चुनाव वहिस्कार मात्रै गरेर केही पनि हुने बताउदै भने-‘जनताले बहिस्कार मात्र गरेर हुदैन एकपटक प्रयोग पनि गर्न सुझाव दिएका छन् । त्यही भएर हामी सम्पूर्ण कम्युनिस्ट, समाजवादी, देशभक्त क्रान्तिकारीहरुसँग एकता÷सहकार्यको नीति अघि सार्दै २०८४ को निर्वाचनमा सबैसँग सहकार्य गर्दै समाजवादका निम्ति समाजवादी अभियानको रुपमा प्रगोग गर्ने सोचमा पुगेका छौ। ’
महासचिव विप्लव सीले निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय भासमा फस्ने ठोकुवा गर्दै निर्वाचन प्रयोग पनि एकीकृत जनक्रान्तिको निरन्तरता भएको बताए । उनले भने- ‘यो हामीले भनेको ५ प्रयोग मध्यको अर्को प्रयोग हो । हामीले २० औं सताब्दीको प्रयोग र बिचारलाई मात्र सबथोक ठान्नु हुन्न २१औं सताब्दीको नयाँ दृष्टिकोणलाई ब्यवहारमा ल्याउनु पर्छ। निर्वाचन प्रयोग क्रान्तिकै एउटा मोर्चा हो तर सबथोक होइन, नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन विभिन्न बाटोहरु छन् । संविधान संसोधन गरेर जान सकिन्छ त्यो भएन भने जनमत सङ्ग्रह, लाखौं जनसमुदायलाई लिएर सडकबाट स्थापित गर्न सकिन्छ । त्यसैको तयारीको एउटा रुप निर्वाचन प्रयोग हो।’

महासचिव विप्लव सीले नेपालमा अहिले साम्राज्यवादले योजनावद्ध ढङ्गबाट कम्युनिस्टहरुलाई जनतालाई, समाजवादी विचारलाई हराउन नसकेपछि धर्म अगि सारेर जनतालाई भौतिकवादी र कम्युनिस्टहरुको बिरुद्ध साम्राज्यवाद लागेको ठोकुवा गरे ।यसैगरी, महासचिव विप्लव सीले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ जेठ ७ गते र्‍याली निकाल्न लागिएको बताए । उनले अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा र्‍याली निकाल्न लागिएको बताए ।

उक्त कार्यक्रमको संचालन नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले गरेका थिए। उनले नेपाल कम्युनिस्ट पार्टीको पाँचौं पूर्ण बैठक पछिको प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए। जुन यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु