‘नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको छ’

२०८० फाल्गुन २७ गते, आईतवार


काठमाडौँ । नेपाल कमुनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा स्याउ रोप्ने राजनीति चाहिएको बताएका छन । शनिवार स्याउ रोपेर गाँउ फर्किने क्रममा बेलुका हिमा गाउँपालिकाको वडा नम्वर ६ पातरखोलामा आयोजित नारी दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।
महासचिव विप्लव सीले भने ‘नेपालको किसानलाई खान दिने राजनीति चाहिएको छ, स्याउ रोप्ने राजनीति चाहिएको छ, युवालाई रोजगारी दिने राजनीति चाहिएको छ, राजनीतिलाई जनताको बारी र स्याउको बोटतिर फर्काउनु पर्छ ।’
महासचिव विप्लव सी ले जुम्ला जिल्ला भनेको स्याउको खानी भएको भन्दै जुम्लाको स्याउलाई चीनतिर निर्यात गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीले जुम्लामा १० हजार स्याउका विरुवाहरु लगाउने योजना बनाएको भएपनि अहिलेलाई १ हजार स्याउका विरुवा लगाईने बताए । उनले महिला र पुरुषहरु समान भएको भन्दै महिलाहरुले आफ्नो अधिकारको लागि लडेको ११४ बर्ष भएको बताए । उनले महिलाहरुले केही अधिकार पाएपनि पूर्ण अधिकार पाउन नसकेको बताए ।
महासचिव विप्लव सीले भने ‘केही अधिकार जुम्ला सहितका देशभरका महिलाहरुले पाउनु भएको छ, धेरै अधिकार पाउन वाँकी छ, अधिकारका लागि लड्दै जानुहोस भन्ने हाम्रो शुभकामना छ ।’
महासचिव विप्लव सीले राज्य जनता तिर नफर्किएको दोहोर्याउदै अबका राजनीति गर्ने नेताहरुले जनतालाई केही दिने गरेर सोच्नु पर्ने बताए । उनले पातरखोलाका जनतालाई आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउर्दै न्यायनो माया र बोल्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिए ।
महासचिव विप्लव शनिवार करिब पाँचसय बढी स्याउका विरुवा रोपेर पातरखोला गाउँ फर्किएका हुन । उनलाई स्थानीयवासीहरुले दमाह वाजा गाजा बजाएर भव्य स्वागत समेत गरेका छन । -बसन्त विक

महासचिव विप्लव हाडुल्ले लेकवाट फर्किए पनि स्याउ लगाउने क्रम भने भोलि पनि जारी रहेने नेकपाले बताएको छ । महासचिव विप्लव भोलि कालिकोटको फोईमहावैमा स्याउ रोप्न जानेछन ।

प्रतिक्रियाहरु