सहिदको सपनालाई नबिर्सौ

२०८० माघ १६ गते, मंगलवार


आज माघ १६ गते सहिद दिवस । आजको दिनलाई सरकार तथा विभिन्न निकायहरुले देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदैछन ।नेपालको परिवर्तनको आन्दोलनमा नेपाली आमाका हजारौँ छोरा छोरीहरुले आफ्नो अमूल्य जीवन परित्याग गर्दै देश र जनताको मुक्तिका लागि सुम्पेका छन । राणा विरोधी आन्दोलनमा लखन थापा ,शुक्रराज शास्त्री,गंगालाग श्रेष्ठ,धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी हाँसी बलिदान गरेका थिए भने जनआन्दोलन,जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि हजारौँ नेपाली सपुतहरुले बलिदान दिएका थिए ।
माघ १६ गते सरकारी तवरबाट सहिद दिवस मनाउदै आएपनि राणा विरोधी आन्दोलन,जनआन्दोलन,जनयुद्ध र एकीकृत जनक्रान्तिको क्रममा सहिद हुने योद्धाहरुको सपना अझै पुरा हुन सकेको छैन । राष्ट्र र जनताको मुहार फेर्न निरंकुश राणा शासन र राजतन्त्रविरुद्ध हजारौँ सहिदहरूले बलिदानी गरे पनि न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । यतिबेला १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट हुने स्थितिमा पुगेका छन् । देशमा सामन्तवाद, देशी, विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीको जगजगी दिनप्रतिदिन बढी रहेको छ । शान्ति र सुव्यवस्था नारामा मात्र सीमित भएको छ । दिनहुँ अन्याय, अत्याचार, कालोबजार र भ्रष्टाचार मौलाइरहको छ । जनजीविका दिनप्रतिदिन थप कष्टकर बन्दै गइरहेको छ । देशको शासन, सुव्यवस्था कायम गर्ने राजनीतिक दल र नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन् । राजनीतिक दल र नेताहरू राष्ट्र र जनताभन्दा दल र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त छन् । राजनीतिक दल र नेताहरूको यस्तो कार्यले नेपाली जनताले विश्वसामु शिर निहुराउनु पर्ने स्थिति छ र सहिदहरूको बलिदान त्यतिकै खेर गएको स्थिति छ । त्यसकारण , देश र जनताको मुहार फेर्ने प्रतिबद्धताका साथ राजनीतिमा होमिएका दल र नेताहरूले एक पटक गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ । आफ्नो दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको निम्ति सोच्न जरुरी छ । अन्यथा ,राष्ट्र र जनताको नाममा आफ्नो दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित हुने दल र नेतालाई सहिदहरूले पक्कै माफ गर्ने छैनन् ।
तसर्थ, सहिदको सपना साकार पार्न र देश र जनतालाई वर्तमान संकटबाट मुक्त पारी समृद्ध नेपाल र सुखी नेपाली बनाउन जनताले रोजेको व्यवस्था स्थापना गर्नु पर्दछ । त्यसको लागि तत्काल प्रगतिशील राष्ट्रिय सरकार गठन गरी कस्तो शासन व्यवस्था र कस्तो शासन प्रणाली लागू गर्ने भन्ने विषयमा जनमत संग्रह घोषणा गर्नुपर्छ र जनमतले रोजेको शासन व्यवस्था र प्रणाली लागू गरे मात्र वर्तमान तमाम समस्याको समाधान हुन्छ । देशलाई द्वन्द्वमा नधेकेली जनताको शान्तिपूर्ण आवाजको सुनुवाई गर्दै शासन व्यवस्था र शासन प्रणाली परिवर्तन गर्न जनमत संग्रहभन्दा अर्को कुनै उत्तम र लोकतान्त्रिक विकल्प छैन । त्यसैले सरकारले तत्काल जनमत संग्रहको घोषणा गरी त्यसलाई कार्यान्वन्यन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नु पर्छ र जनमत संग्रहमार्फत् जनताले रोजेको शासन व्यवस्था र शासन प्रणाली लागू गर्नुपर्छ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु