बदली र वर्षाको सम्भावना !

२०८० बैशाख ३१ गते, आईतवार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको छ । बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन । ‘अहिले कोशी र मधेश प्रदेशमा बदली बढेको छ । तर त्यसले मात्रै पानी पार्ने होइन ‘। मौसमविद सन्जिव अधिकारीले भने – ‘स्थानीय वायु र पश्चिमी वायु पनि हिजो अस्तीको भन्दा सक्रिय भएकाले दिउँसोमा काठमाडौं उपत्यकासहित देशभरको पहाडी भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।’
मोखा चक्रवातको प्रभाव नेपालको पूर्वी भागमा बढी र पश्चिमी भागमा कम पर्ने पूर्वानमान छ । तर पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी देखिएको छ । त्यसैले देशभरकै पहाडी भागमा बदली र वर्षा हुने भएकाले केही दिनयताको चर्को घामबाट राहत महसुस हुनेछ ।
‘हिजो अस्तिको तुलनामा उच्चतम तापक्रम घट्ने सम्भावना छ,’ मौसम पूवानुमान महाशाखाले भनेको छ । काठमाडौं उपत्यकामा आज क्षणिक वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि बढी वर्षा हुने मौसमविद् अधिकारीले बताए । जल तथा मौसम विज्ञान विभागले सार्वननिक गरेको विभिन्न शहरहरुको सम्भावित मौसमी अवस्थामा पनि अधिकतम तापक्रम घट्ने सम्भावना औंल्याइएको छ । त्यसमा हिजो अस्तीको तुलनामा आज धेरै स्थानहरुमा पानी पर्ने सम्भावना देखाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु