तीन व्यक्तिको डीएनए प्रयोग गरी बच्चा जन्माइयो !

२०८० बैशाख २८ गते, बिहीबार

काठमाडौं । बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा विश्वमा पहिलो पटक तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। बच्चा जन्माउन ‘माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट’ (एमडीटी) प्रविधि प्रयोग गरिएको थियो । बच्चाकी आमालाई ‘माइटोकोन्ड्रियल’ नामकाे रोग भएका कारण डीएनए दान गर्ने महिलाकाे सहयाेग लिइएकाे थियाे । यस रोगले स्नायु प्रणाली, कार्डियक एरिथमिया (असामान्य मुटुको धड्कन), मधुमेह, शरीरको वृद्धिमा असरजस्ता समस्या निम्त्याउँछ । त्यस्तै याे रोग भएका महिलाबाट जन्मिएका बच्चाको मृत्युसमेत हुन सक्छ । यो एक निको नहुने रोग हो । यसका कारण धेरैले सन्तान गुमाएका छन् । त्यही कारण बच्चा जन्माउन दाता महिलाको डीएनए प्रयोग गरिएको बताइएको छ ।
एमडीटी प्रक्रियामा आमाको अण्डामा भएको न्यूक्लियस (युकेरियोटिक कोशिकाहरूमा पाइने झिल्ली-बाउन्ड अर्गनेल) हटाएर दाताको अण्डामा हुने न्यूक्लियस राखिन्छ । यसले भ्रूणमा दाता महिलाको अण्डामा भएको माइटोकोन्ड्रिया सहित आमाको डीएनए बनाउने गर्छ । सो बच्चाको डीएनएमा आफ्नो आमाबाबुको ९९.९ प्रतिशत र दाता महिलाको ०.१ प्रतिशत अंश हुने बताइएको छ । त्यस्तै बच्चाले आमाबुबासँगै दाता महिलाको डीएनए पाउनेछ । तर दाता महिलाबाट पाउने डीएनएन भने बच्चाको माइटोकोन्ड्रियालाई सुधार गर्न मात्र प्रयोगमा आउने जनाइएको छ ।
माइटोकोन्ड्रिया कोषभित्रको सानो भाग हो । यसले हामीले खाएको खानालाई शक्तिमा परिवर्तन गर्ने काम गर्छ । यस प्रविधिले माइटोकोन्ड्रियल रोग लागेका आमाहरूलाई पनि सन्तान प्राप्त गर्न मद्दत गर्ने बताइएको छ । तर कतिपयले यस विधिको विरोधसमेत गरेका छन् । उक्त कामका लागि बेलायतको संसदले सन् २०१५ मा नै स्वीकृति दिएको थियो । त्यस्तै ह्युमन फर्टिलाइजेसन एन्ड एम्ब्रिओलोजी अथोरिटी (एचएफईए)ले समेत यसमा सहमति दिएको थियो । यस प्रविधि कतिले राम्रो भनेका छन् भने कतिले विरोध गरेका छन् । बच्चाकाे जन्म गत मार्च ९ मा भएपनि डाक्टरहरूले गोपनीयताका कारण बच्चाबारे थप जानकारी भने दिएका छैनन् । तर एमडीटी प्रविधि प्रयोग गरी सन् २०१६ मा नै मेक्सिकोमा बच्चा जन्माइएको थियो । – बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु