ट्वीटर किन्न एलन मस्कद्वारा टेस्लाको पौने ९ खर्ब मूल्यको शेयर बिक्री

२०७९ श्रावण २५ गते, बुधबार


काठमाण्डौं । टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीमा रहेको आफ्नो ७९ लाख २० हजारभन्दा बढी कित्ता शेयर बिक्री गरेका छन् । उनले कूल ६.८८ अर्ब डलर अर्थात् करिब ८ खर्ब ७५ अर्ब रुपैयाँमा उक्त शेयर बिक्री गरेका हुन् । मङ्गलबारमात्रै अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले प्रकाशित गरेको नयाँ वित्तीय विवरण मार्फत मस्कले टेस्लाको शेयर बिक्री गरेको विषय बाहिरिएको हो । उनले यही अगस्ट महिनाको ५ र ९ तारिखमा आफ्नो शेयर बिक्री गरेको उल्लेख छ । यो वर्षको सुरुवातमा मस्कले टेस्लाको थप शेयर बिक्री नगर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । तर, ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने उनको निर्णयका कारण यति बेला टेस्लाको शेयर बिक्री गर्नु परेको बताइएको छ ।
मस्क पछिल्लो समय ट्वीटर खरिदको विषयलाई लिएर कानूनी लडाइ लडिरहेका छन् । सुरुमा कम्पनी खरिद गर्ने निर्णय गरेका उनले ट्वीरबाट ‘फेक अकाउण्ट’ (नक्कली प्रयोगकर्ता) को आवश्यक जानकारी उपलब्ध नगराएको भन्दै खरिद प्रक्रिया रद्द गर्ने निर्णय लिएका थिए ।
त्यससँगै यो विषय अदालतमा पुगेको थियो । तर, अब भने उनले ट्वीटर खरिदलाई पूर्णता दिने आँकलन गरिएको छ । मस्कले शेयर बिक्री गरेको विषय बाहिरिएसँगै मङ्गलबारबाट टेस्लाको शेयर मूल्य घटेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु