गोसाइँकुण्ड मेला सुरु

२०७९ श्रावण २० गते, शुक्रबार

काठमाडौं । गोसाइँकुण्ड मेला सुरु भएको छ । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गत वर्ष करिब १० हजार तीर्थयात्रीे मेलामा सहभागी भएका थिए । धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १२ हजार र काठमाडौं–सुन्दरीजल र हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री त्यहाँ पुगेको जानकारी समितिले दिएको छ । यसअघि अनुमानको भरमा तीर्थयात्री आएको बताइए पनि गत वर्षदेखि नेपाली सेनाले तथ्यांक लिन थालेको छ ।
यस वर्ष तीर्थयात्रीलाई खान तथा बस्नका लागि ७० वटा भन्दा बढी थर्पु निर्माण गरिएको होटेल व्यवसायी संघ रसुवाका अध्यक्ष निशन गजुरेलले बताउनुभयो । कुण्डमा स्नान गरी गोसाइँबाबा शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आफूले चिताएको सबै मनोकमना पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन् । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।

प्रतिक्रियाहरु