दिल्लीका निजी कार्यालयहरू बन्द गर्न आदेश

२०७८ पुष २७ गते, मंगलवार


काठमाडौं । भारतको केन्द्रीय राजधानी दिल्लीको आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले सबै निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ । राजधानीमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । डीडीएमएको निर्देशन अनुसार निजी कार्यालयहरू आकस्मिक सेवाका लागि मात्र खुल्नेछन् । साथै, छुट प्राप्त वर्गमा रहेका कार्यालयहरु खुला रहनेछन् । निजी कार्यालयहरूलाई घरबाटै काम गर्न सल्लाह दिइएको छ । दिल्लीका सबै रेस्टुरेन्ट र बारहरू पनि बन्द रहनेछन् । सोमबार दिल्लीमा १९ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका थिए । भारतभर एक लाख ६८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।
दिल्लीमा कोरोनाको बढ्दो महामारीबीच डिसेम्बरको अन्तिम सातादेखि करिब ७० जनाको मृत्यु भएको छ । दिल्ली सरकारले सबै अस्पतालहरूलाई समयमै मानिसहरूलाई भर्ना गर्न र बिरामीहरूको हेरचाह गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

यसैगरी, कोरोना भाइरसको बढ्दो संक्रमणबीच भारत, उत्तराखण्डको हरिद्वार जिल्ला प्रशासनले १४ जनवरीमा लाग्ने मकर संक्रान्ति मेलामा रोक लगाएको छ । मकर संक्रान्तिको अवसरमा ‘हर की पैडी’ मा स्नान गर्न भक्तहरूलाई प्रतिबन्ध लगाएको हो । हरिद्वार जिल्ला अधिकारी विनय शंकर पाण्डेले एक विज्ञप्ति जारी गरी १४ जनवरीमा कुनै पनि बाहिरी व्यक्तिलाई जिल्लामा प्रवेश गर्न नदिने स्पष्ट उल्लेख गरिएको छ ।
त्यसका साथै ‘हर की पैडी’ मा स्थानीय र बाहिरका नागरिकको आवतजावतमा पनि प्रतिबन्ध लगाइनेछ । योसँगै जिल्लामा स्थानीय समयानुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । जारी सूचनामा भनिएको छ, ‘यदि कसैले यो आदेश उल्लंघन गरेको पाइएमा निजलाई महामारी तथा विपद् व्यवस्थापन ऐन अन्तर्गत कारबाही गरिने छ ।’ भारतमा पछिल्ला दिनहरुमा कोरोना महामारी डरलाग्दो तरिकाले बढेको छ ।

प्रतिक्रियाहरु