भारत पठाइएका ४७ वटै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि

२०७८ श्रावण १३ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न स्थानमा संकलन गरी भारत पठाइएका ४७ वटै नमुनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ । ३ वटा नमूनामा थप उत्परिवर्तन (म्युटेसन)समेत पुष्टि भएको भन्दै सजकता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।
‘देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन ’के४१७ एन म्युटेसन’ भेटिएको छ, जसलाई ’एवाई.१’ नाम दिइएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेठ मध्यदेखि असार मसान्तसम्म संकलन गरिएका ४७ वटा परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाइएको थियो ।
योसहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ’भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा भेटिएका ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो ।

प्रतिक्रियाहरु