नोभाभ्याक्सको फेज ३ : ९०.४ प्रतिशत प्रभावकारी

२०७८ असार १ गते, मंगलवार


काठमाडौं। अमेरिकी कम्पनी नोभाभ्याक्सले बनाएको कोरोनाभाइरस भ्याक्सिनको फेज ३ ट्रायलको नतिजा आएको छ । कम्पनीले सोमबार कोरोनाभाइरसविरुद्ध आफ्नो भ्याक्सिन निकै प्रभावकारी देखिएको बताएको छ । भ्याक्सिनले माइल्ड, मोडरेट र सिभर अवस्थामा ९०.४ प्रतिशत प्रभावकारिता देखाएको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ । यो ट्रायल बेलायतमा गरिएको हो । राम्रो नतिजाको कारण यो भ्याक्सिनले छिटै आकसिमक प्रयोगको स्वीकृति पाउने अपेक्षा गरिएको छ । यो भ्याक्सिन फरक–फरक भेरिएन्टबाट रक्षा गर्न पनि सक्षम रहेको बताइएको छ । विश्वभर भ्याक्सिनको कमी भइरहेका बेला कम्पनीले यो नतिजा जारी गरेको हो । नोभाभ्याक्सले भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग यस वर्षभित्रमा भ्याक्सिनको २ अर्ब डोज तयार गर्ने सम्झौता गरेको छ ।
अगष्ट महिनामा सिरम र नोभाभ्याक्सबीच सम्झौता भएको थियो । सम्झौता अनुसार कम र मध्यम आय भएका देशहरु र भारतको लागि कम्तीमा १ अर्ब डोज उत्पादन गरिनेछ । यससँगै नेपालले पनि सहज रुपमा भ्याक्सिन पाउने सम्भावना बढेको छ । किनकि नेपालले पहिलो पटक पाएको भ्याक्सिन कोभिशिल्ड पनि सिरम इन्स्टिच्युटले नै उत्पादन गरेको थियो । र, सिरम संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक भएकोले पनि यसले नेपाललाई खोप उपलब्ध गराउन सक्ने सम्भावना उच्च छ ।
ट्रायलको नतिजा आएपछि कम्पनीले २०२१ को तेस्रो त्रैमासिकमा अमेरिका, बेलायत र युरोपमा आकस्मिक प्रयोगको लागि स्वीकृति माग्नेछ । नोभाभ्याक्सले आफ्नो भ्याक्सिनको बालबालिकामा पनि ट्रायल सुरु गरिसकेको छ । कम्पनीले १२ देखि १७ वर्ष उमेर समूहका ३ हजार बालबालिकामा ट्रायल सुरु गरेको हो । नोभाभ्याक्स्ले अमेरिकालाई १० करोड डोज दिने सम्झौता गरिसकेको छ । तर, अमेरिकामा फाइजर, मोडर्ना, जोनसन एण्ड जोनसन लगायतका भ्याक्सिन लगाउने क्रम चलिरहेकोले यो सबै डोज अमेरिकालाई आवश्यक नपर्न सक्छ । यस्तोमा अमेरिकाले यो भ्याक्सिन दान दिने सम्भावना उच्च छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु