‘सबै मिलेर लडे कोरोना सङ्क्रमण परास्त गर्न सकिन्छ’

२०७८ बैशाख २० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोनाले विश्वव्यापी रूपमा मानवजातिलाई क्षति पुर्याइरहेकाले यसका विरुद्ध सबै एक भएर जुध्न आवश्यक रहेको बताएका छन । महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिका ९ मा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा कार्यक्रम उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने- ‘कोरोनाले विश्वव्यापी रूपमा मानव जातिलाई ठूलो क्षति पुर्याइरहेको छ । मानव जातिले यो शताब्दीमा निकै ठूला क्षतिहरू भोग्नु परिरहेको छ । समाजलाई चाहिने, देशलाई चाहिने, मानवजातिका लागि चाहिने, विश्वका लागि चाहिने ठूलाठूला विद्वान्हरूदेखि लिएर युवा, श्रमिक सबैलाई यसले क्षति पुर्याइरहेको छ र यसका विरुद्ध लडाइँ चलिरहेको छ । यो एउटा प्राकृतिक प्रकोपजस्तो बनेको छ । योसँग अहिले संसारका शीर्ष तहका मान्छेहरू लडाइँमा छन् भने पनि हुन्छ । वैज्ञानिकहरू पनि रातदिन सक्रिय छन् । विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीहरू पनि खटिराखेका छन् । नागरिकहरू आफैँ पनि लागिराखेका छन् तर पनि यो रोग नियन्त्रणभित्र आइसकेको छैन ।’
महासचिव विप्लवले भने – ‘यो शताब्दीमा सायद पहिलो सय दुई सय वर्षपहिले ठूलाठूला महामारीहरू आएको हामी सुन्थ्यौँ तर कोरोना विश्वव्यापी रूपमा फैलियो । विश्वभरिका जनतालाई सताउने रोगमा यो शताब्दीमा सायद अहिलेसम्मकै ठूलो होला । सोह्रौँ र सत्रौँ शताब्दीमा पनि यस्ता रोगहरूले युरोप, अफ्रिका र एसियामा ठूलाठूला क्षति गरेको इतिहास हामी पढ्छौँ । विश्वका कुनैकुनै देशको त आधा जनसङ्ख्या मरेको इतिहास पनि हामीले पढेका छौँ । आज विज्ञानले विकास गरेको छ । ठूलाठूला अनुसन्धान पनि गरेको छ तर त्यसलाई समेत चुनौती दिँदै मानव जातिलाई यसले हैरान पारेको छ । यसका विरुद्ध मिलेर लड्नु हामी सबैको कर्तव्य बनेको छ ।’
महासचिव विप्लवले अगाडि भने, ‘गएको सालको असर नसकिँदै अहिले फेरि नेपालमा दोस्रो चरणको कोरोनाले गएको सालभन्दा ठूलो क्षति गर्दैछ । हिजो सबैभन्दा धेरै रेकर्ड गरिएको छ । एकै दिन सङ्क्रमितको सङ्ख्या पनि पाँच हजार नाघेको छ । मृत्यु हुनेको सङ्ख्या पनि यो सातामा सबैभन्दा माथि बढेको छ । त्यसले गर्दा जनतामा त्रासको वातावरण फैलिएको छ । राज्यलाई नोक्सान हुने खतरा छ । नेपाली जनता, नेपालका सबै नागरिकलाई क्षति हुने खतरा अगाडि आएको छ । डाक्टर, वैज्ञानिक, इन्जिनियरदेखि शिक्षक, सबै नागरिकमा यसले हमला गरिरहेको छ । यस खालको परिस्थितिमा योसँग सबैले मिलेर लड्नुपर्ने आवश्यकता छ । राज्यसँग, नागरिकसँग सहकार्य गर्नुपर्नेछ ।’
महासचिवले अगाडि भने, ‘विशेषगरी अहिले कोरोना सङ्क्रमण काठमाडौँमा तीव्र गतिमा फैलिरहेको छ । यसलाई राम्रोसँग उपचार गरिएन भने जनताको ठूलो समस्याका रूपमा आउने खतरा छ । त्यसकारण यसका विरुद्ध लड्नु राज्य र सबैको दायित्व बनेको छ । हाम्रो पार्टीले भनेको छ–राज्यले मात्रै यो लडाइँ लडेर जितिँदैन । सरकारले मात्रै यो लडाइँ लडेर जित्दैन । स्वास्थ्यकर्मी मात्रै लडेर यो लडाइँ जितिँदैन । पैसा खन्याएर पनि जितिँदैन । अस्पतालका शैयाहरू बढाएर वा सुईहरू झिकाएर मात्रै पनि यो लडाइँ जितिँदैन । यसका लागि हामीले नागरिक समाज अथवा सामाजिक जनशक्तिलाई अधिकतम् रूपले परिचालन गर्न जरुरी रहेको सुझाव दिएका थियौँ । चेतनाका हिसावले, जागरणका हिसाबले, सचेतताका हिसाबले, उपचारका हिसाबले यी सबै तरिकाले हामीले सबै शक्ति प्रयोग गर्न आवश्यक छ । राज्यलाई पनि हामीले के भनेका छौँ भने अहिले एकअर्कालाई आरोप लगाएर यो लडाइँ जितिँदैन । यसका निम्ति सिङ्गै नागरिकले, नेपाली सबै नागरिक, डाक्टर, इन्जिनियरदेखि लिएर सर्वसाधारण नागरिकसम्म एकढिक्का भएर आआफ्ना ठाउँबाट लड्न सकिन्छ, जित्न सकिन्छ । यो कुरा हामीले जनतालाई बताउनुपर्छ र सिकाउनुपर्छ । यस किसिमको योजनाबाट परिचालन गरिनुपर्छ । त्यसो भयो भने हामी जित्न सक्छौँ ।’
यसको उदाहरण दिँदै महासचिव विप्लवले अगाडि भने, ‘कैयौँ देश अहिले सफल देखिन्छन् । सानो उदाहरण हेरौँ– चीन । चीनमा सबैभन्दा पहिले यो रोग देखापर्यो । त्यहाँ ठूलो लडाइँ र बहस पनि छ तर पहिले सुरुमा चीनलाई कम्युनिस्ट देश भएको हुनाले त्यहाँ समस्या आयो भन्नेसम्मको आरोप पनि लगाइयो तर चीनले एउटा नयाँ तरिका अपनायो । जनतासहितको सहकार्यलाई व्यवस्थित गर्दा टोलटोलबाट नागरिकहरू पनि सक्रिय हुने, स्वास्थ्यकर्मीहरू पनि सक्रिय हुने अनि राज्य पनि सक्रिय हुने, सबै एकढिक्का भएर लड्ने । तल एउटा किसानदेखि लिएर देशका प्रधानमन्त्री, राष्ट्रपतिसम्म, स्वास्थ्यकर्मीदेखि लिएर किसान, मजदुर एक भएर लड्दाखेरि चीनको परिणाम के आयो भने त्यत्रो जनसङ्ख्या भएको देशमा आज कोरोना सङ्क्रमण र असर नगन्य रूपमा छ । त्यस्तै सानो एउटा समाजवादी देश क्युबाले कोरोनालाई प्रवेशै गर्न दिएको छैन र गरे पनि सुरुबाटै रोकिराखेको छ । त्यस्तै जनगणतन्त्र कोरियाले पनि अहिलेसम्म रोकिराखेको छ । हामीले चाह्यौँ भने जनताको घरघरमा छलफल गराएर, सबैतिरबाट मद्दत गरेर, सबैलाई यो रोगका विरुद्ध जागरण ल्याएर लड्न सकिन्छ । हामी सबै मिलेर गरौँ, सफल हुन सकिन्छ ।’
योजनाका प्रमुख पहलकर्ता अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव डा. प्रकाश चन्दले कोरोनाको दोस्रो भेरियन्टले पछिल्लो समयमा जसरी सुनामी जसरी भारतको स्वास्थ्य लपेटेको छ नेपालमा त्यसको सम्भावित क्षति टार्ने, आफ्नो मौलिकता र उपलब्ध साधनस्रोतको भरपूर सदुपयोग गर्ने अनि सङ्क्रमितलाई अनुशासनपूर्वक स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले ‘रिकोभरी केन्द्र’ सञ्चालन गरिएको बताए ।
कार्यक्रममा नेकपाका नेता वीरजङ्ग, सरस्वति माविका प्र.अ. विक्रम केसी, नेकपा केन्द्रीय सदस्य कृति, नेकपा केन्द्रीय सदस्य असल, कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु, इलाका प्रहरी कार्यलाय सुन्डरीडाँडा इन्स्पेक्टर ज्ञवाली लगायत शिवगढीका सम्पूर्ण राजनीतिक अगुवा, सामाजिक सङ्घ सङ्गठन, आमा समूह र युवा समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वडाध्यक्ष चुरबहादुर खड्का र सञ्चालन वडा सचिव प्रेम वलीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु