नयाँ आधारमा नयाँ राष्ट्रिय एकताको परिकल्पना गरौं

२०७७ चैत्र ३१ गते, मंगलवार
     विष्णु पन्त

१. जनअनुमोदित व्यवस्थामा जनउत्तरदायी नेतृत्व र राजनीतिक दल ः फेरि पनि भन्नै पर्छ, राजनैतिक विचारधारा वा चिन्तनको क्षेत्रमा सबैभन्दा सुन्दर र उन्नत लोकतन्त्रवादी परिकल्पना हो– जनअनुमोदित राजनीतिक व्यवस्था, जनउत्तरदायी नेतृत्व र राजनीतिक दलको अवधारणा । हामीले पटक–पटक भन्नैपर्छ यो परिकल्पना विश्वकै लागि नयाँ अभ्यास हुनेछ । हामीले भन्न सक्छौं कि आजका व्यवस्थाहरु जनअनुमोदित छन् वा छैनन् भनेर परीक्षण गरिएका छैनन् । अझै अगाडि गएर भन्नुपर्दा – व्यवस्था नै छान्ने अधिकार जनतालाई दिइएको छैन । पक्कै पनि आजको बहस राजनीतिक व्यवस्था, नेतृत्व र राजनीतिक दललाई कसरी जनता, राष्ट्र र मानव जातिप्रति उत्तरदायी बनाउने भन्नेमा केन्द्रित हुनुपर्दछ । आजको विश्वराजनीतिको मूल प्रवृत्ति हे¥यौं भने कसरी सत्ता हत्याउने, सत्तामा टिक्ने, विरोध, आक्रोश र विद्रोहलाई दबाउने भन्नेमा केन्द्रित छ । मेरो विचारमा यो गलत अभ्यासले विश्वमा निषेध, बदला र प्रतिशोधको चिन्तनलाई हाबी गराएको छ । आजको आवश्यकता हो कि यो गलत अभ्यासमा हामीले क्रमभङ्ग गर्नैपर्छ किनकि यो आजको मानव सभ्यता मैत्री छैन । हामीले राजनीतिक प्रणालीको विकास गर्दा मानव सभ्यतामा पर्ने प्रभावलाई विचार गर्न सक्नुपर्दछ । हिजोको सामन्तवादी वा पुँजीवादी अवशेषहरुलाई बोकेर विश्वलाई दिशानिर्देशन गर्न सकिँदैन । विद्यमान शोषण वा उत्पीडपनको अन्त्य फेरि अर्को शोषण र उत्पीडनका लागि हुन सक्दैन ।

एकछिन हामी वर्तमान नेपाली राजनीतिक चित्र हे¥यौं । अहिलेको संसदीय व्यवस्था गम्भीर वा चरम संकटमा छ । बिडम्बना के छ भने यो संकटको समीक्षा र संश्लेषण वर्तमान नेतृत्वले अझै पनि गर्न सकेको छैन । आजको नेतृत्व वास्तविक अर्थमा जनउत्तरदायी छैन । सारमा भन्दा आजको संसदीय नेतृत्व न त जनताप्रति न त राष्ट्रप्रति नै उत्तरदायी र जवाफदेही नै छ । हेर्नुस् हामीले महान् र दिग्गज ठानेका केपी ओली, प्रचण्ड र बाबुरामको लडाईँ कहाँ केन्द्रित छ ? आजका प्रचण्डको विजय ¥याली संसद पुनस्र्थापनामा प्रकट भयो । प्रचण्डको जीत प्रधानमन्त्री केपी ओलीको पतनमा केन्द्रित बनेको छ । केपी ओलीलाई हटाएर शेरबहादुर देउवा, महन्त ठाकुर वा डाक्टर बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दै हिँड्नु न्यायोचित र नैतिक विषय हो त ? के केपी ओलीको सरकार ढल्दैमा मुलुक र जनताले केही परिवर्तन पाउँछन् त ? कमरेड प्रचण्डको वैचारिक हिसाबले योभन्दा ठिट लाग्दो अवस्था के होला ? उनले त भन्नु सक्नु पर्दथ्यो, यो व्यवस्थाले हामीलाई पनि बिगा¥यो, अब नयाँ ठाउँमा जाऊँ । प्रधानमन्त्री केपी ओलीको हविगत पनि उस्तै छ, प्रचण्ड र माधव नेपाललाई थाङ्नामा सुताउन सक्दा जीतको आनन्द लिइरहेका छन् । निष्कर्षमा भन्न खोजेको कुरा, सत्तालाई व्यक्तिगत टकरावको विषय बनाउने परिपाटीको अन्त्य आजको आवश्यकता बनेको छ ।

आजका राजनीतिक दलहरुको परिदृश्य हेरौं त कति उराठ लाग्दो छ । आजका राजनीतिक दलहरु मुठ्ठीभर नेताहरुको भजनमण्डलीमा परिणत भएका छन् । दलहरुभित्र चाकडीबाज र दलालीकरण हाबी भएको छ । कोही नेता बन्नु छ भने या त शक्तिकेन्द्र या त गुटको भक्त हुनुपर्छ । गुटगत स्वार्थका आधारमा उनीहरुका विचार, तर्क र नाराहरु निर्धारित हुन्छन् । छेपारोले रङ, फेरेजस्तै उनीहरुका मुद्दाहरु फेरिन्छन् र बाझिन्छन् । सारमा भन्ने हो भने न त नेतृत्व न त राजनीतिक दल, देश र जनताप्रति उत्तरदायी बन्न सकेका छन् । यहाँसम्म कि अहिलेका नेताहरु आफैँले ल्याएको वा बोकेको वर्तमान व्यवस्थाप्रति उत्तरदायी छैनन् । केही समय पहिले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘संसद पुनस्र्थापना नभए सर्वोच्च अदालतको निर्णय मान्य हुँदैन ।’ यी उनीहरुले बनाएको प्रणाली र संविधानको खिलाफमा थिएन र ? यो बहसको उद्देश्य के हो भने राजनीतिको केन्द्र केपी ओली होइनन् र व्यक्तिलाई बहसको केन्द्र बनाइयो भने त्यो विचारमा आएको संकट वा निकृष्टता हो । बहस व्यक्तिमा होइन व्यवस्था वा विधिमा खोज्नु असल नेतृत्वको जिम्मेवारी हो । आजका मुल राष्ट्रिय समस्यातर्फ ध्यान केन्द्रित गरौं न त । राष्ट्रिय बहसका मुद्दातर्फ सोचौं न त ।

१. जनअनुमोदित व्यवस्था, जनउत्तरदायी नेतृत्व र राजनीतिक दल

२. व्यक्तिगत टकरावको अन्त्य गर्ने विधि

३. कुर्सी वा सत्तालोलुप संघर्षको अन्त्य गर्ने विधि

४. निषेध र प्रतिशोधको अन्त्य गर्दै प्रतिष्पर्धा र सहकार्यको सिद्धान्तको खोजी

५. राष्ट्रियता जोगाउने विधि

६. भ्रष्टाचारको अन्त्य गर्ने विधि

मेरो फेरि पनि संसदीय नेताहरुलाई प्रश्न छ– आपसी लडाईँ, झगडा, विभाजन र सत्तोसरापको संस्कृति विकास गरेर अगाडि बढ्दा के समयले हामीलाई गिज्याउँदैन र ? एकजना टिप्पणीकारको छुद्र टिप्पणी सुनेको थिएँ– गाउँमा पँधेर्नीहरुको झगडा बन्द भयो तर त्यो रोग नेताहरुमा स¥यो । सँगै बस्न नसके विभाजित हुने तर सभ्य ढंगले भए भइहाल्यो नि । पार्टी फुटेर टुक्रा–टुक्रा भएका छन्, सबैले सूर्य चिन्ह र नाम मेरो भनेका छन् । हुँदा–हुँदा प्रचण्डले समेत दाबी गर्ने ? यो कस्तो राजनीतिक संस्कार र अभ्यास हो ? नेपाली काँग्रेसका नेताहरुले समेत सार्वजनिक रुपमा यसको र त्यसको भन्दै हिँड्ने । पार्टी विभाजनको सभ्यता सिक्नु छ भने नेक्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’बाट सिक्नु नि !

२. समाजलाई पथप्रदर्शन वा दिशानिर्देशन गर्ने राजनीतिक प्रणालीको बहस ः यो संश्लेषण सबैभन्दा सही हुनेछ– यदि राजनीति उच्च चेतनास्तर भएका व्यक्तिहरुले गर्ने हो भने पक्कै पनि राजनीतिले समाजलाई दिशानिर्देश गर्दछ । अहिले जस्तै राजनीतिक नेताहरु, आफैं दिशाविहीन हुने हो भने यसले समाजलाई पनि दिशाविहीन बनाउँछ । राजनीतिक नेताले आपूmलाई नमुना पात्रमा परिणत गर्न सक्नुपर्छ । कमरेड विप्लवले भन्नु भएको थियो, ‘एउटा असल नेताले आफ्ना स–साना काममा पनि ध्यान दिन सक्नुपर्छ ।’ कमरेड प्रकाण्डको शब्दमा ‘हेलिकप्टर नचण्डु वा सुरक्षाकर्मी फिर्ता गर्ने काम सामान्य हुन तर समाजवादी संस्कृति निर्माणको अभियानमा अर्थपूर्ण छन् ।’ उहाँले भन्नुभएको थियो, ‘नेता भइकन नेता जस्तो बन्न सक्नुपर्छ कुनै महासामन्त वा शासकजस्तो बन्न खोज्नु हुँदैन ।’ त्यसकारण आजका कुनै पनि संसदीय नेताहरुले यो विषयमा बहस गर्न सकेका छैनन् । नेतृत्व र जनताबीचको सम्बन्धको विषयमा कमरेड विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमको बहस उच्चस्तरको छ । समाज, राष्ट्र र जनतालाई परिवर्तन गर्छु भन्नेहरु आपूm नबद्लिने हो भने त्यो पाखण्ड हुन्छ । त्यसकारण आज हामीलाई चाहिएको राजनीतिक प्रणाली भनेको जनता, समाज र समग्र मानव सभ्यतालाई दिशानिर्देश गर्ने खालको हो ।

समाजलाई भाँड्ने, विभाजित गर्ने अनि पछाडि फर्काउने प्रणालीको अन्त्य अपरिहार्य छ । आज चर्चा भएको पनि छ, विप्लव र प्रकाण्डको ध्यान अब कृषि र उत्पादनतिर छ । नेताहरुले धान, गहुँ काटेको वा श्रम गरेका तस्बिरहरु पनि सार्वजनिक भएका छन् । यसको सन्देश नेताहरु हो । भ्रष्टाचार र कमिसनतर्फ नलाग, श्रम र उत्पादनमा लाग । प्रश्न फेरि पनि त्यही हो– के हामीले समाज र जनतालाई पथप्रदर्शन गर्न सक्ने नेतृत्व प्रणालीको निर्माण गर्नेबारे बहस गर्न सक्दैनौं । यदि हामी देश र जनताप्रति उत्तरदायी छौं भने बहस वा स्वार्थको केन्द्रमा आपूmलाई राख्नु आवश्यक छैन । म भन्छु– विप्लव, प्रकाण्ड, कञ्चन र सुदर्शनहरुबाट केही सिक्ने कि ? वास्तवमा नेपाली राजनीतिमा विप्लव मात्र यस्तो नेता हुन जसले नयाँ–नयाँ बहस र चिन्तनको आँधी नै ल्याएका छन् ।

३. नया राजनीतिक प्रणालीको उत्खनन् गर्ने समय हो ः विप्लवले एउटा प्रशिक्षणमा भन्नुभएको थियो– विश्वमा वैज्ञानिक समाजवादको स्थापना र अभ्यास गर्ने नयाँ आधार र दृष्टिकोणको खोजी गर्नुपर्ने भएको छ । वास्तवमा आजको समय विश्वमै नयाँ राजनीतिक प्रणालीको उत्खनन गर्ने समय हो । विद्यमान राजनीतिक व्यवस्थाहरुले मानव सभ्यताको विकासलाई भन्दा बढी विनाशलाई सहज बनाइदिएका छन् । विज्ञान र प्रविधिको विकास एकातर्फ र मानवीय चेतनाको विकास अर्कोतर्फ विकेन्द्रित छन् । विस्तारै मानव चेतना वा प्रविधिको छायाँ मात्र बन्ने खतरा उत्पन्न हुँदैछ । पछिल्लो पटक विश्व राजनीतिक प्रणालीमा कुनै परिवर्तन भएका छैनन् । नीतिगत र प्रणालीगत रुपमा पुँजीवादमा चरम संकटहरु आइपरेका छन् तर नयाँ प्रणाली र विचारधाराका विषयमा बहसहरु उठ्न सकेका छैनन् । केवल परम्परागत अनि शास्त्रीय रुपमा हुने दलीय निर्वाचन वा प्रतिस्पर्धाले मात्र बद्लिँदो विश्व परिवेशलाई थेग्न सक्दैन । समाजवादको सन्दर्भमा पनि यही सत्य हो कि परम्परागत अभ्यास वा दृष्टिकोणबाट मात्र आजको विश्वलाई नेतृत्व प्रदान गर्न सकिँदैन । आजको मानव जातिले पछ्याउने अग्रगामी दृष्टिकोणको विकास गर्न जरुरी छ । केवल शास्त्रीय व्याख्यामा मात्र अडिएर समाजवाद आउनेवाला छैन । विचारको विकासको प्रश्न धेरै पहिलादेखि चलेको हो । तर, विकास वा नयाँको नाममा प्रचण्ड र बाबुरामको गल्ती दोहोरिनु हुँदैन । त्यसकारण सारमा भन्दा विश्वमै एउटा नयाँ राजनीतिक प्रणालीको टड्कारो आवश्यकता खड्किएको छ । आजको बहस र चिन्तनको केन्द्र कसरी राजनीतिक सत्तालाई बढीभन्दा बढी जनउत्तरदायी बनाउने भन्ने विषयमा केन्द्रित गर्नुपर्दछ । कसरी जनतालाई अधिकार दिने र सार्वभौम बनाउने भन्ने विषयमै सबैको ध्यान जानु पर्दछ । नयाँ प्रणाली वा व्यवस्था कस्तो बनाउने भन्नेमा चिन्तन हुन जरुरी छ र त्यो मात्र मानवसभ्यता र विकासका लागि उत्साहप्रद साबित हुनेछ ।

४. संसदीय व्यवस्थामा बहुमत र दुई तिहाईको परीक्षण अनि असफल ः हामीले अनुभव गरेकै तथ्य हो संसदीय व्यवस्थामा बहुमत र दुई तिहाईका सबैखाले परीक्षण पटक–पटक असफल भएका छन् । त्यसकारण बहुमत अनि दुई तिहाईको परीक्षणहरु पनि असफल भइसकेपछि अब यथास्थितिमा जनतासामु जाने कुनै आधार बाँकी छैन । यथास्थितिमा हुने संसदीय चुनावको कुनै अर्थ छैन र यसले समय र देशको बर्बादी मात्र गर्छ । संसद् विघटन गरेर नयाँ अग्रगामी पाइला चाल्नु आजको आवश्यकता बनेको छ ।

५. जनमत संग्रह अर्थात् नया“ राष्ट्रिय एकता र सहकार्यको प्रस्ताव ः नेकपाले राखेको प्रगतिशील संयुक्त सरकार र जनमत संग्रहको प्रस्तावले देशमा नयाँ राष्ट्रिय एकताको सन्देश दिएको छ । निषेध, प्रतिशोध र विभाजनको संस्कृतिको ठाउँमा एकता, सहकार्य, सहअस्तित्व र स्वच्छ प्रतिस्पर्धाको दृष्टिकोणको विकास गर्न खोजेको छ । देश र जनतालाई केन्द्रमा राख्ने हो भने सबै मिलेर जान सकिन्छ भन्ने सही निष्कर्ष रहेको छ । हिजो एउटा धोका र षड्यन्त्र भयो कि संसदीय व्यवस्थाकै पुनरावृत्ति गर्ने । तर, त्यसमा हीनताबोध गरेर बस्नुपर्ने अवस्था छैन र त्यसलाई सच्याउन सकिन्छ । आज दुई तिहाई बहुमत ल्याएको पार्टी टुक्राटुक्रा बनेको छ र सहयात्रीहरु दुश्मन बनेका छन् । यो व्यवस्थाले निम्त्याएको संकट हो । केपी ओली वा प्रचण्ड, शेरबहादुर देउवा वा रामचन्द्र पौडेल अनि बाबुराम वा महन्त ठाकुर त्याग र बलिदानको हिसाबले महान् नै हुन तर गलत व्यवस्था कारण उनीहरु असफल भए ।

६. नया आधारमा नया राष्ट्रिय एकताको परिकल्पना गरौं ः अब पनि दुर्गन्धित र असफल संसदीय व्यवस्थालाई नै बोक्ने गल्ती गर्नु हुँदैन । विप्लवले एउटा राम्रो, सुन्दर र अग्रगामी प्रस्ताव ल्याउनु भएको छ– व्यवस्था हान्ने अधिकार जनतालाई दियौं । जनमत संग्रहको प्रस्तावले सबैलाई प्रतिस्पर्धा गर्न दिने अवसर दिएको छ । अब निषेध र प्रतिशोधको संस्कृतिलाई अन्त्य गरी सहकार्यको सभ्यताको विकास गरौं । वास्तविक वा जीवन्त सहकार्य र स्वच्छ प्रतिस्पर्धा कस्तो हुनुपर्छ भन्ने विषयमा विप्लव र प्रकाण्डहरुको चिन्तनको उच्च सम्मान गरौं । कमरेड विप्लवले संश्लेषण गर्नुभएका धेरै सुन्दर विचारहरु छन्, जसको अध्ययन गरौं । देशमा उच्च राजनीतिक संस्कार, नैतिकता र आदर्शको विकास गर्नेतर्फ सोचौं न । त्यसकारण देशलाई विकास र समृद्धितर्फ डो¥याउने हो भने अग्रगामी विचारसहितको राष्ट्रिय एकताको आवश्यकता छ । मुलुकलाई धेरै समयसम्म यथास्थितिमा राखिराख्नु हुँदैन । संसदीय गोलचक्करबाट देशले मुक्ति खोजिरहेको छ । त्यसकारण नयाँ आधारमा नयाँ राष्ट्रिय एकताको निर्माण गरी अग्रगामी पाइला चालौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु