अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७७ चैत्र २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) मध्य केन्द्रिय कमान्ड अन्तर्गत उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, उपत्यका विशेष ब्युरो इन्चार्ज तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज चिरन पुन मिलन र अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा महासचिव तथा मध्य केन्द्रिय कमान्ड इन्चार्ज प्रकाश शाहीको अध्यक्षतामा काठमाडौँको त्रिचन्द्र कलेजमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा ब्युरो इन्चार्ज मिलनले विद्यार्थी आन्दोलनको दिशा, क्रान्तिकारीहरुको कार्यभारका विषय सहभागीलाई प्रशिक्षित पारेका थिए । मिलनले नेपालमा राजनीतिक रुपमा दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद र दलाल नवउदारवादी बुर्जुवा शिक्षाको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका विषयमा प्रशिक्षिण दिएका थिए । साथै नेपालको वर्तमान शिक्षा प्रणाली असफल सावित भइसकोले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राखे । ब्युरो इन्चार्ज मिलनले एकीकृत जनक्रान्तिकाे विशेषताका बारेमा औल्याउँदै आफ्नो पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आन्दोलनमा रहेको र यो आन्दोलन कम्युनिस्ट आन्दोलनको नयाँ र विकसित आन्दोलन रहेको प्रष्ट पारे । यसमा युवा विद्यार्थीहरुको भूमिकाको विषयमा पनि सहभागीहरुलाई प्रशिक्षित गरे ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले नेपालका दलाल संसदीय पार्टी निकट विद्यार्थी संगठन लुटपाट, कमिसन र ठेक्कापट्टामा लिप्त भएको भन्दै आफ्नो संगठन मात्र असली विद्यार्थीको प्रतिनिधि भएको बताए । यस्तै उनले वर्तमान शिक्षा प्रणाली समाज, देशको र जनताको जीवनसँग मेल खाने नभएको र शैक्षिक संस्थाहरु विदेशी कामदार उत्पादन गर्ने कारखाना भएको भन्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको अपरिहार्यताका विषयमा प्रशिक्षित पारेका थिए । अध्यक्ष ढकालले सहभागीलाई वैज्ञानिक समाजवादी शिक्षाको सारतत्व र रुपरेखा का विषयमा प्रष्टाएका थिए ।
अध्यक्षता मन्तव्यको क्रममा संगठनका महासचिव तथा कार्यक्रमका अध्यक्ष प्रकाश शाहीले शिक्षामा आमूल रुपान्तरणको आवश्यकता औल्याउँदै एकीकृत जनक्रान्ति वैज्ञानिक समाजवादी शिक्षा प्रणाली प्राप्तिको आन्दोलन एक अर्काको परिपुरक रहेको बताउदै सहभागीलाई प्रशिक्षित पारेका थिए । यसैगरी संगठनका उपाध्यक्ष रुद्र भट्टराई, उपत्यकामा कार्यरत अखिल (क्रान्तिकारी) का उपलब्ध केन्द्रीय सदस्यहरुले संक्षिप्त प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा उपत्यका विशेष ब्युरो अन्तर्गत त्रिभुवन विश्वविद्यालय, क्याम्पस जिल्ला, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, रसुवा, काभ्रे, डि वान, लगायत जिल्लाभित्र पर्ने क्याम्पस र कलेजबाट इकाई अध्यक्षर संयोजकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम मिलन राईले संचालन गरेका थिए भने स्वागत मन्तव्य मदन केसीले राखेका थिए ।

प्रतिक्रियाहरु