चार पत्रकार संगठनबीच पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने सहमति

२०७७ फाल्गुन १६ गते, आईतवार


काठमाडौं । चार पत्रकार संगठन पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छन । जनपत्रकार संगठन , नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान सहमत भएका हुन । जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील पत्रकार संघ, नेपालको तर्फबाट अध्यक्ष उदय जिएम र प्रेस नेपालको तर्फबाट केशव अर्यालको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा पाँच बुँदे सहमतिको आधारमा पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएको जनाइएको छ ।
यस बिषयमा चार पत्रकार संगठनद्वारा जारी संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ – ” हामी तपशिलका विषयहरूमा निम्नलिखित सङ्गठनहरू नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छौँ।
१.श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा पनि निरन्तरता दिन प्रतिबद्ध छौँ ।
२. नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिक लगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रुपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील सङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ ।
३. पत्रकारहरूको पेशागत एवम् भौतिक सुरक्षाका ग्यारेण्टीका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आव्हान गर्दछौँ ।
४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग गर्दछौँ ।
५. नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सरोकारवाला सबै पक्षसित अपिल गर्दछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु