देशभर वर्षा र हिमपातको सम्भावना

२०७७ पुष २१ गते, मंगलवार

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली भएर हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । काठमाडौंको मौसममा हिजैदेखि खराबी देखिएको छ । बिजो बिहान हल्का वर्षा भएर धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन् ।
संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो । राति अबेरसम्म पनि मौसममा सुधार भने भएन । आज बिहानैदेखि उस्तै तुवालोले काठमाडौंलाई ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
मंगलबार सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र प्रदेश १ मा एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत छ । बुधबार देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भई बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ । ‘देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले भनेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु