कोरोनाको खोप केही दिनमै सर्वसाधारणका लागि उपलब्ध हुने सम्भावना !

२०७७ मंसिर १२ गते, शुक्रबार


काठमाडौ । चीनमा निर्मित कोरोना भाइरसविरुद्धको खोप केही दिनमै सर्वसाधारणका लागि उपलब्ध हुने सम्भावना बढेको छ । चीनमा कोरोना भाइरसविरुद्धको खोप विकासका लागि काम गरिरहेका केही कम्पनीले आधिकारिक स्वीकृतिका लागि नियामक निकायमा आवेदन दिएपछि यस्तो सम्भावना बढेको हो । तीन महिनाअघि नै आपतकालीन प्रयोगको अनुमति पाइसकेको यो भ्याक्सिनले नियामक निकायबाट पूर्ण स्वीकृति पाएसँगै आम सर्वसाधारणलाई यो खोप दिन बाटो खुल्नेछ । अहिलेसम्म रुसले मात्र आफ्नो मुलुकमा विकास भएको खोपलाई स्वीकृति दिएको छ । अमेरिका र बेलायतमा विकास गरिएका प्रतिस्पर्धी खोपले तेश्रो चरणको परीक्षणको प्रारम्भिक नतिजा जारी गर्दै आफ्नो खोप प्रभावकारी देखिएको बताएसँगै चीनको खोप पूर्ण स्वीकृतितर्फ अघि बढेको हो । सिनोफार्मको नामले चिनिने चाइना नेशनल फार्मास्युटिकल ग्रुपको भगिनी कम्पनी चाइना नेशनल बायोटेक ग्रुपसीएनबीजीले पूर्ण स्वीकृतिका लागि आवेदन दिएको सिनोफार्मका उपमहाप्रबन्धक शी शेंगयीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । यद्दपि, चीनमा निर्मित कतिवटा र कुन कुन खोपको परीक्षणका लागि आवेदन दिइएका हुन् चाँहि भन्ने प्रस्ट छैन । सीएनबीजीका दुई छुट्टाछुट्टै संस्थानहरुले कोरोना भाइरसविरुद्ध दुई खोप विकास गरेका छन् । यीमध्ये कुनै एक वा दुवै खोप स्वीकृतिका लागि पठाइएको अनुमान छ । यी दुवै खोपको विश्वका १० छुट्टाछुट्टै मुलुकहरुमा तेश्रो चरणमा ठूलो परिमाणको परीक्षण जारी छ । खोपको परीक्षण दक्षिण अमेरिकी मुलुक र मध्यपूर्वका मुलुकमा पनि जारी छ । यी खोप कत्तिको प्रभावकारी छन् भन्ने अहिलेसम्म सार्वजनिक गरिएको भने छैन ।

प्रतिक्रियाहरु