नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले आज (३० चैत)देखि ग्राहकका लागि स्प्रिङ अफर २०८० सुरु गरेको छ । अफर अन्तर्गत कम्पनीले १८ रुपैयाँमा १ दिन सबै नेटवर्कमा कल गर्न सकिने २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने दुई घण्टा अनलिमिटेड डाटा प्याक उपलब्ध हुनेछ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध हुनेछन् ।
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस एन्ड डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ ।
त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यीवाहेक ३९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रियाहरु