अमेरिकी सिनेटले ट्वीटर, फेसबुक र गुगलका प्रमुखसँग बयान लिने

२०७७ कार्तिक १३ गते, बिहीबार


काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टी आबद्ध सिनेटरहरूले ट्वीटर, फेसबुक र गुगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन । सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई बयानका लागि समितिको बैठकमा डाकेको छ । अदालतबाट आदेश पूर्जी जारी गर्न सक्ने धम्की दिइएपछि उनीहरू तीनै जना भर्चुअल बैठकमा उपस्थित हुने भएका छन् ।
यसै महिना फेसबुक र ट्वीटरले दक्षिणपन्थी झुकाव राख्ने न्यूयोर्क पोष्ट अखबारले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनका सम्बन्धमा प्रकाशित समाचारलाई फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिएपछि त्यसको रिपब्लिकन पार्टीले विरोध गरेको थियो ।
न्यूयोर्क पोष्टले छापेको समाचारलाई अमेरिकाका अरू प्रमुख संचारमाध्यमले प्रकाशन नगरेको तथा बाइडेनका छोरा हन्टरले पठाएका भनिएका इमेलहरू पुष्टि नभएको ट्वीटर र फेसबुकले जनाएका थिए । यी इमेलहरू रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थकहरूले प्रकाशन गर्न लगाएको र ती पूर्वाग्रही रहेको भन्दै फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिएको बुझिएको छ ।
। अमेरिकी न्याय विभागले प्लेटफर्मले प्राप्त गरिरहेका कतिपय संरक्षणहरू हटाउन अमेरिकी तल्लो सदन कंग्रेस समक्ष अनुरोध गरिसकेको छ । अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उहाँका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्ने गरेका छन्् ।
ट्रम्प र उहाँका समर्थकको विचारमा यी प्रमुख सामाजिक सञ्जालले डेमोक्रेटिक पार्टी र यसका उम्मेदवार जो बाइडेनलाई समर्थन गरेको आरोप लगाइरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु