बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदै

२०७७ भाद्र ३१ गते, बुधबार

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने लक्षका साथ् आज नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो ।
आरोहणको जिम्मा पाएको नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेको थियो ।
कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान पछि धकेलिएको हो । राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ ।
लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा फर्किनेछ । राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ । यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ ।

प्रतिक्रियाहरु