एकीकृत जनक्रान्तिमा गोलबद्ध होऔं

२०७७ भाद्र २८ गते, आईतवार

सरकारको कार्यशैलीका कारण देश र जनता आक्रान्त बनेका छन् । कोरोनाका कारण देशको अर्थव्यवस्था चौपट भएको छ भने जनजीविका कष्टकर बन्दै गएको छ । तर, सत्ताधारी पार्टी र सरकार कानमा तेल हालेर बसेको छ । खेतीको समयमा कृषकले मल पाएनन्, रेलमार्गको नाममा करोडौँको घोटाला गर्न सत्तामा रहेका र दलमा प्रभुत्व जमाएका नेताहरु नै टुप्पी कसेर लागे, आमजनताले एमसीसी राष्ट्रघाती छ, खारेज गर्नुपर्छ भन्दाभन्दै सत्ताधारी पार्टीको स्थायी कमिटीबाट परिमार्जनसहित एमसीसी पास गर्ने निर्णय भएको छ । कोरोनाले दिनप्रतिदिन गति बढाउँदैछ तर नियन्त्रणको लागि सरकारले ठोस नीति ल्याउन सकेको छैन । यस्ता दर्जनौँ विषयले सत्ताधारी पार्टी, सरकार, देश र जनताप्रति उत्तरदायी छैन भन्ने प्रस्ट हुन्छ ।

यस्तो अवस्थामा देश र जनताको पक्षमा खरो रुपमा उत्रिएको तर सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी मात्र देश र जनताको भरोसाको केन्द्र बनेको छ । नेपाल कम्युनिस्ट पार्टीकै चेतावनीपछि सरकारले मलका ठेकेदारलाई कारवाही र रेलमार्गको ठेक्का रद्द गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारीलाई कुनै हालतमा नछोड्ने उद्घोष गर्दै संघर्षमा होमिएको छ । त्यस्तै उसले राष्ट्रघाती र जनघाती एमसीसी कुनै हालतमा लागू गर्न नदिने उद्घोषसमेत गरेको छ । तर, सरकारले मलका ठेकेदारलाई कालो सूचीमा नराख्ने, रेलमार्गको ठेक्का ब्युँताउने र एमसीसी पास गर्नेलगायतका प्रपञ्च गरेको छ । जुन आमसचेत नागरिकलाई कुनै हालतमा सैह्य हुने विषय होइन । तसर्थ, सरकारको यी सबै हर्कतहरुलाई सच्याउन नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नुको विकल्प छैन । त्यसैले सार्वभौम राष्ट्र र स्वाधीन नेपाली बन्नका लागि जनता मैदानमा उत्रनुको विकल्प छैन । यस्तो अवस्था देश र जनताको पक्षमा सतिसाल भएर खडा भएको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आमसचेत नागरिक, राष्ट्रवादी र क्रान्तिकारी राजनीतिक दल र नेताहरु गोलबद्ध हुनुको विकल्प छैन । साँच्चै सार्वभौम राष्ट्र र स्वाधीन नेपाली बन्ने हो भने अब नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमा सबै सामेल हुनुको विकल्प छैन, अन्यथा देश र जनताको अस्तित्वमाथि संकट आइपर्ने निश्चित देखिन्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु