फिफा विश्वकप र एसियन कप छनोटका बाँकी खेल स्थगित

२०७७ श्रावण २८ गते, बुधबार

काठमाडौं । एसियाली फुटवल महासंघ (एएफसी)ले आज एक विज्ञप्ति जारी गर्दै फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु स्थगित गरेको जनाएको छ । एएफसीले कोरोना भाइरस महामारीका कारण नेपाल सहितका मुलुकले प्रतिस्पर्धा गरिरहेका प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु स्थगित भएको जानकारी दिएको हो । विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित एएफसीले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन यसअघि एएफसीले प्रस्ताव गरेको थियो ।
प्रतियोगिताको तयारीका लागि नेपालले भदौ एक गतेबाट बन्द प्रशिक्षण शुरु गर्न लागेको थियो । खेल स्थगित भएकाले प्रशिक्षण पनि अन्योलमा परेको छ ।विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ ।
नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु