एमसीसी पारित नगर्न चेतावनीसहित सांसदको घरघरमा सूचना टाँस !

२०७७ श्रावण १ गते, बिहीबार

काठमाडौँ , १२ असार । नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न आग्रह गर्दै सरकारी नेकपालगायत सबै राजनीतिक दललाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दै आएको सो नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको बिरुद्धमा उत्रन आम नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि र राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आव्हान समेत गरेको छ ।

यसैक्रमा नेपाल कम्युनिस्ट पार्टी कैलालीले एमसीसीका विपक्षमा उभिनका लागि कैलालीमा घर भएका राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको घरको गेटमा सूचना र परिवारको सदस्यलाई पत्र दिँदै कडा जनकारबाहीको चेतावनीसहित एमसीसी खारेज गर्न सांसदहरूलाई उर्दी जारी गरेको छ । एमसीसी नेपाली जनताको हितविपरीत रहेको इन्डो–प्यासिफिक रणनीतिक कार्यक्रम रहेको भन्दै नेकपाले विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको छ । त्यही कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका ८ घर भएका नेकपाका सांसद नारदमुनि रानाको घरमा सूचना टाँस गरी परिवारका सदस्यलाई पत्र थमाएको छ ।

त्यसैगरी धनगढी वडा नं. ४ मा केही समयअगाडि आरजू राणा देउवाले किनेको घरमा समेत नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका नाममा सूचनापत्र टाँसिएको र उक्त घरमा परिवारको सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटभित्र छोडिएको नेकपा स्रोतले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिकास्थित उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टको घरमा समेत एमसीसी खारेजीको पत्र र सूचना टाँसिएको नेकपाले जनाएको छ ।

यसैगरी गौरीशङ्कर थारू, झपट रावललगायत कैलालीका सबै कथित जनप्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरूलाई एमसीसीका पक्षमा लागे वा मतदान गरे जिल्ला प्रवेशमा निषेधसहित कडा जनकारबाही गरिने बेहोराको लिखित पत्र पठाइएको नेपाल कम्युनिस्ट पार्टी कैलालीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीले एमसीसी पारित नगर्न चेतावनीसहित सांसदको घरघरमा पत्रको व्यहोरा यसप्रकार रहेको छ : –

“श्रीमान् राष्ट्रियसभा /प्रतिनिधिसभा सदस्य…ज्यू

कथित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो भन्ने कुरा स्वयम् अमेरिकी सुरक्षा निकाय र सरकारका पदाधिकारीहरूले भनिसकेको अवस्थामा सरकार र सरकारबाहिर रहेका साम्राज्यवादका नेपाली एजेन्टहरू देशभक्त नेपाली जनताको विरोध हुँदाहुँदै उक्त रास्ट्रघाती परियोजना संसदबाट पारित गराई नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप निम्त्याएर नेपाललाई साम्राज्यवादको सैन्य क्रीडास्थल बनाउन उद्यत रहेको सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समिति तथा सेती–महाकाली ब्युरोद्वारा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरीसकेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौँ ।

यतिखेर कोरोना महामारीको त्रासका बीचमा पनि एमसीसीको विषयलाई लिएर सिङ्गो देश नै सङ्घर्षमय बनेको छ । उक्त राष्ट्रघाती परियोजनालाई वैधानिकता दिने वा खारेज गर्ने भन्ने विषयलाई लिएर नेपालको प्रतिनिधिसभा तथा राष्ट्रिय सभा पनि सङ्घर्षका केन्द्र बन्ने देखिँदैछन् । यस्तो पेचिलो अवस्थामा कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने तपाईंले राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आमराष्ट्रप्रेमी कैलालीबासीहरूको रहेको छ । नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावका पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाईं तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु । अतः उक्त राष्ट्रघाती परियोजनाका पक्षमा तपाईं कदापि उभिनुहुनेछैन भन्ने हाम्रो पार्टीले आशा गरेको छ ।”

यता , नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसीका पक्षमा मत जाहेर नगर्न आग्रह गर्दै पत्र पठाएको छ । विश्व शक्तिराष्ट्रहरूले कोरोना सङ्कटको मौका छोपी नेपालमाथि असमान प्रकारका आर्थिक, सामाजिक र सैन्य सम्झौताहरू जबर्जस्ती लाद्न खोजेको भन्दै राष्ट्रघाती एमसीसीको विपक्षमा मत व्यक्त गर्न सांसदहरू गणेशसिंह ठगुन्ना र दिलेन्द्रप्रसाद बडुलाई पत्र पठाएको हो । राष्ट्रघाती परियोजना एमसीसीको विपक्षमा मत जाहेर नगर्न आग्रह गर्दै दार्चुला इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीद्वारा हस्ताक्षरित अनुरोधपत्रमा भनिएको छ, ‘व्यापार गर्नका लागि भारतमा आएर ३०० वर्ष भारतलाई कब्जा गरेको ब्रिटिस इन्डिया कम्पनीको आधुनिक रूप एमसीसी हो भन्ने सडकदेखि सदनसम्मको विरोधले पुष्टि गरेको छ ।’

पत्रमा अहिले देशलाई एमसीसीजस्तो सैन्य गुटमा जानबाट रोक्न इतिहासले सांसदहरूको काँधमा महत्वपूर्ण जिम्मेवारी सुम्पिएको भन्दैै भाबी पुस्ताको काँधमा राष्ट्रघाती भार थोपर्ने वा स्वतन्त्रताको भन्ने विषयमा निर्णय गर्ने समय आएको बेला एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका पक्षमा मतदान नगर्न अनुरोध गरिएको छ ।

यसैगरी , नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई एमसीसीका पक्षमा मत जाहेर नगर्न आग्रह गर्दै पत्र लेखेको छ । नेकपाका कञ्चनपुर जिल्ला इन्चार्ज सहदेव र सेक्रेटरी रविले विज्ञप्ति जारी गर्दै कञ्चनपुरका सांसद दीपकप्रकाश भट्ट, बिना बुढाथोकी, तारा भट्ट, निरु पाल, नरबहादुर धामी, बिना मगर र इन्दु कठरियालाई राष्ट्रघाती परियोजना एमसीसीका विपक्षमा मत जाहेर गर्न आग्रह गरेका हुन् ।

अमेरिकी डलरसँग राष्ट्रियता साट्न नसकिने भन्दै नेकपा कञ्चनपुरको विज्ञप्तिमा नेपाल र नेपाली जनताको भावनाविपरीतको राष्ट्रघाती परियोजना एमसीसी आमजनता, नागरिक समाज, बुद्धिजीवी, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी, सचेत देशभक्त, राष्ट्रप्रेमी एक भएर जनस्तरबाट दिनहुँ अभियान, आन्दोलन र व्यापक विरोध प्रदर्शन हुँदाहुँदै पनि जबर्जस्ती केपी–बादल कम्पनीको कठपुतली सरकारले सङ्घीय संसद्बाट पास गर्न खोजिरहेको भन्दै उक्त परियोजनाका विपक्षमा मत जाहेर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

राष्ट्रिय सङ्कट र समाधान

२०८० आश्विन २१ गते, आईतवार

समाजवादी मोर्चा, नेपालको गठनबारे

२०८० भाद्र ४ गते, सोमबार

जेलमा रेशम चौधरीसँग भेट

२०८० बैशाख २४ गते, आईतवार

नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु

२०७९ फाल्गुन १० गते, बुधबार