राष्ट्रिय सङ्कट र समाधान

२०८० आश्विन २१ गते, आईतवार

प्रकाण्ड सी

हाम्रो देश र नेपाली जनताको जीवन चरम् संकटको अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थाले आगामी एक–दुई वर्ष निरन्तरता पाउने हो भने देश र जनताको अस्तित्वमा प्रश्नचिन्ह खडा हुनेछ । एक्काइसौं शताब्दीको बहुधु्रवीय विश्वको विशेषताले विश्वलाई नयाँ र भिन्न स्थानमा खडा गरेको छ । शितयुद्धको समाप्तिपछि विश्वव्यापी एकछत्र प्रभुत्व जमाउन पुगेको अमेरिकी साम्राज्यवाद चरम् विघटनको सामना गररहेको छ । नयाँ विश्व शक्तिको रुपमा उदीयमान चीन र रुसले राजनैतिक, आर्थिक, सैन्य एवं प्रविधि र विकास निर्माणको क्षेत्रमा विश्वव्यापी रुपमा पारिराखेको प्रभाव र हस्तक्षेपले अमेरिकी ध्रुव विक्षिप्त भएको छ । विकसित नयाँ विश्व शक्तिसँगको अमेरिकी साम्राज्यवादको प्रतिस्पर्धाले दुश्मनीपूर्ण रुप लिएको छ । त्यो मूलभूत रुपमा व्यापार र सैन्य युद्धमा व्यक्त भइराखेको छ । युक्रेन युद्ध र ताइवान तनाव यसैका उपज हुन् । आफ्नो गुम्दै गएको विश्व नियन्त्रणलाई पुनस्र्थापित गर्न वा निरन्तरता प्रदान गर्न अमेरिकी साम्राज्यवाद २१ औँ शतााव्दीको नयाँ विश्व साम्राज्यवादी रणनीति विकाश गरेर आइरहेको छ । विश्वको हिन्द–प्रशान्त क्षेत्रलाई परिलक्षित गरी हिन्द– प्रशान्त रणनीति (INDO PACIFIC STRATEGY) अगाडि सारेको छ । आफ्नो विश्व प्रतिद्वन्द्वी वा विरोधीविरुद्धको यो विचार, राजनीति, आर्थिक, सैन्य एवं प्रविधी, विकाश निर्माण, सूचना प्रविधि, क्रिश्च्यिन धर्म एवं सांस्कृतिक उद्देश्यसहितको समग्र ‘अमेरिकी साम्राज्यवादी रणनीति’ हो । यसले हिन्द–प्रशान्त क्षेत्रको राष्ट्रिय स्वाधीनता र जनताको स्वनिर्णयको अधिकारलाई खतरामा पार्छ । अमेरिकी हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको MILLENNIUM CHALLENGE CORPORATION COMPACT परियोजना यस अर्थमा हस्तक्षेपकारी र जनविरोधी छ । यसले नेपालको राष्ट्रिय स्वाधीनता माथि खतरा पैदा गर्दैछ । यो रणनीति हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादी नव औपनिवेशिक हस्तक्षेपका विरुद्ध संचालित राष्ट्रिय मुक्ति आन्दोलन र श्रमिक वर्ग एवम् उत्पीडित समुदायले जनमुक्तिका निम्ति संचालन गरिराखेको वैज्ञानिक समाजवादी आन्दोलनका विरुद्ध हजारौँ गुण खतरनाक छ । यस अर्थमा नेपालका कम्युनिस्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील लोकतन्त्रवादी र राष्ट्रवादी नेपाली जनताले कुनै पनि मूल्यमा एमसीसी परियोजना नेपालबाट फिर्ता पठाउनु पर्दछ । यसलाई लागू हुन दिनु हुँदैन, खारेज गर्नु पर्दछ ।

देशमा दलाल पुँजीवादका कारण नेपाली जनताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विकास एवं समृद्धिको सवाल धरापमा पार्दै गएको छ । राजनैतिक क्षेत्र सत्ता र कुर्सीको खेलमा बदलिएको छ । यसका निम्ति विदेशी शक्तिको अगाडि आत्मसमर्पण गर्ने, देश एवं जनताका विरुद्ध सौदाबाजी गर्ने र आफ्ना नातागोता, आसेपासे भर्ती गर्ने थलो बनेको छ । जसको लक्ष्य साम्राज्यवादका दलाल र निगम पुँजीपतीका नेपाली एजेण्ट दलाल पुँजीपति तयार गर्ने रहेको छ । रातारात राजनीति र आर्थिक क्षेत्रका दलालहरुको भदौका च्याउझैँ उमारी नेपाललाई दलालहरुको अखडा बनाउने दृष्टता रहेको छ । दलाल पुँजीपतिहरुको भ्रष्टाचार, कमिशन, तस्करी, दलाली, मुनाफाखोरी र राज्यको ढुकुटी माथिको लुटखसोटका कारण अर्थतन्त्र टाट उल्टिएको छ ।

साधारण खर्चसमेत धान्न नसकेर सरकारले आन्तरिक तथा बाह्य ऋण लिइराखेको छ । गत आर्थिक वर्षको अन्तिम आषाढ मसान्तसम्म २२ खर्ब १८ अर्ब ५४ करोड राज्यको ऋण छ । प्रतिव्यक्ति नेपाली जनताको टाउकोमा लगभग ७५ हजारभन्दा माथि पर्न आउँछ । त्यस्तै गत आर्थिक वर्षको तुलनामा १ खर्ब ८० अर्ब ८१ करोड राज्यको राजस्व संकलन घट्यो । मुद्रा स्फिति ७.७४ प्रतिशत पुगेको छ । वस्तुव्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड मात्र छ । यसले वस्तु तथा सेवा आयात १० महिना मात्र धान्छ । आर्थिक वर्ष २०७९/८० को कुल बजेटमा १२ खर्ब, २० अर्ब, ५६ करोड, विप्रेषण आप्रवाहको स्थान छ । राज्यको लगानीले उत्पादक क्षेत्रमा नभएर घरजग्गा कारोवार र पुँजी बजारमा प्राथमिकता पायो । जसका कारण नेपाली अर्थतन्त्रले पहिलो पटक यो विपत्ति भोग्दै छ । यसमा छिटै सुधारको गुन्जायस पनि देखिँदैन । सामाजिक असुरक्षा डरलाग्दो छ । घर बाहिर निस्कँदा महिला, बालबालिका र बूढाबूढी सुरक्षित छैनन् । दाइजोका कारण महिलाको दैनिक हत्या हुने गर्दछ । जाँड, रक्सी, जुवा, तास, वेश्यावृत्ति, जातिय भेदभाव, छुवाछुत, लागूऔषध, महिला उत्पीडन तथा वेचविखन र मानव तस्करीले नेपाली समाज आक्रान्त छ । बेरोजगारी, निराशा र पलायनताले डरलाग्दो रुप लिँदै गएको छ ।

नेपाली संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिको भीषण आक्रमण छ । उपभोक्तवाद, उपयोगितावाद र क्रिश्चियन धर्मको अतिक्रमण डरलाग्दोरुपमा मौलाएको छ । विकास र समृद्धि शासकहरुले भट्याउने नारा मात्र बनेको छ । देशको वर्तमान यस चित्रले विदेश पढ्न जाने विद्यार्थी मात्र होइन, रोजगारीका निम्ति विदेशिने युवायुवती मात्र पनि होइन, देशभित्रै बस्ने कोही पनि इमान्दार नेपाली जनताले यो देशमा आफ्नो भविष्य देख्न छोड्यो । राष्ट्र र जनताको लागि यो भयावह स्थिति हो ।

देशको विद्यमान समस्याको कारकतत्व विश्व साम्राज्यवाद र देशभित्रको दलाल पुँजीपति वर्गको राज्य सत्ता, दलाल संसदीय व्यवस्था र यसको नेतृत्व हो । नेपाली जनताको अभिमत वा जनसंघर्ष वा एकीकृत जनक्रान्तिको बलमा यथाशक्य विद्यमान दलाल पुँजीपति वर्गको राज्य सत्ता, दलाल संसदीय शासन व्यवस्था र दलाल पुँजीपति वर्गको नेतृत्वलाई विस्तापित गरी नेपाल राष्ट्रको स्वाधीनता, नेपाली श्रमिक जनता एवम् उत्पीडित समुदायको प्रतिनिधित्व एवं हितको सुनिश्चित गर्ने र देशलाई समृद्धिको दिशा प्रदान गर्ने वैज्ञानिक समाजवादी राज्यसत्ता, समाजवादी शासन ब्यवस्था र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व वर्तमान राष्ट्रिय संकटको एक मात्र तत्कालिक र दीर्घकालीन समाधान हो । राष्ट्रिय राजनीतिको यस महान् एवम् ऐतिहासिक कार्यका निम्ति मजदुर, किसान, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गको राष्ट्रिय स्वाधीनता र समाजवादका निम्ति साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध वृहत् समाजवादी मोर्चा निर्माण नेपाली वस्तुस्थितिको वर्तमान आवश्यकता बन्न गएको छ । यसका निम्ति कम्युनिस्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरुको संयुक्त नेतृत्व र पहलकद्मी निर्णायक हुन आउँछ ।

प्रतिक्रियाहरु