समाजवादी मोर्चा, नेपालको गठनबारे

विप्लव सी , महासचिव - नेपाल कम्युनिस्ट पार्टी २०८० भाद्र ४ गते, सोमबार

परम्परागत तरिकाले हेर्ने हो भने अनौठो लाग्ने गरी समाजवादी मोर्चा, नेपाल निर्माण भयो । सरकार, संसद् र सडकमा रहेका पार्टीहरु जो हिजो विपरित धु्रवमा खडा जस्ता थिए मिलेर कसरी मोर्चा बन्यो भन्नेले देशमा ठूलै तरङ्ग पैैदा भयो । संसदीय व्यवस्थाको चरम अस्थिरता र सङ्कटबिच समाजवादी मोर्चा बन्दा अधिकतम् संख्यामा उत्साह, आशा, खुसी देखियो भने केही मात्रामा आलोचना, आरोप, आशङ्का पनि देखिए । हामीले समाजवादी मोर्चाको निर्माणमा किन जोड दियौं ? यो मोर्चाको महत्व, सारतत्व एवं उद्देश्य के छन् जसले देशको राजनीतिमा हस्तक्षेपकारी भूमिका पुरा गर्नसक्छ ? यस विषयमा केही चर्चा जरुरी परेको छ ।
मोर्चाको आवश्यकता
समाजवादी मोर्चा, नेपाल संवेदनशील एवं नविन परिस्थितिको उपज हो । परिस्थितिलाई निरन्तरता या सामान्य अवस्थामै बुझियो भने यो मोर्चाको महत्व र सारतत्वलाई नै बुझ्न सकिंदैन । हिजोेकै आँखाबाट परिस्थितिलाई बुझ्ने हो भने यो मोर्चा संभव नै छैन । यदि नयाँ परिस्थितिको संवेदनशीलता र कम्युनिस्ट पार्टीको सर्वोच्च जिम्मेवारीलाई बुझ्यौं भने यसको महत्वलाई जो कोहीले भन्दा छिटो र अपरिहार्य रुपमा बुझ्न सक्छौं । अर्थात् समाजवादी मोर्चाको आवश्यकता र निर्माणलाई तीन कारणले सही, वस्तुवादी र वैज्ञानिक रुपले बुझ्न सकिन्छ । तिनीहरु हुन्ः पहिलो राजनीतिक परिस्थिति र अन्तरविरोधमा आमूल परिवर्तन, दोस्रो नयाँ साधनको आवश्यकता र तेस्रो पार्टीको सचेतन पहल ।
१) हामीले नेपालको राजनीतिक विशेषता र अन्तर्विरोधबारे निस्कर्ष निकाल्दा महाधिवेशनमा भनेका थियौं देशको मूल चरित्र दलाल पुँजीवादी हो भने मुख्य अन्तर्विरोध दलाल पुँजीवादी सत्ता र श्रमिक जनताको बिचमा छ । तर त्यहाँ हामीले सङ्केत गरेका थियौैं कि परिस्थिति बदलिएर नयाँ अवस्थामा पुग्ने संभावना पनि छ । पछिल्लो समय जसरी भूमण्डलीकृत साम्राज्यवाद अर्थात् अमेरिकी साम्राज्यवादले हस्तक्षेपलाई तीव्र बनाएको छ र सम्पूर्ण क्षेत्रमा त्यसका प्रभावहरु देखिन थालेका छन्, यो नेपालको लागि गम्भीर छ । प्रायः भारत मार्फत आउन चाहने अमेरिका यतिवेला सिधा आइरहेको छ । उसको जोड नेपाललाई विश्व राजनीतिक धु्रवीकरणको प्रभावमा राख्ने र आफ्नो पकडमा पार्ने छ । यो विगतको भन्दा गुणात्मक रुपले भिन्न र नयाँ परिस्थिति हो । यो स्थितिलाई जसले पहिले बुझ्छ र समाधान गर्ने पहल गर्छ उसैले सफलता प्राप्त गर्छ । यसको मुख्य सम्बन्ध ज्ञान, विचार, चेतनाको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी र नेताहरुसँग बढी हुन्छ । घटना घटिसकेपछि या सबैले बुझेपछि मात्र बुझ्ने हो भने राजनीतिक पार्टीको अर्थ रहँदैन । समाजवादी मोर्चा यही परिवर्तित स्थितिसँग जोडिएको छ ।
२) नयाँ अन्तर्विरोध र समस्या पैदा हुँदा त्यसलाई समाधान गर्ने साधन, शक्ति र विचार पनि नयाँ आवश्यक हुन्छ । नयाँ अन्तर्विरोध पुरानो विचार र साधन भयो भने मान्छेहरु केवल आलोचक र पुच्छर मात्र बन्न बाध्य हुन्छन् । उनीहरुले जति नै क्रान्ति र परिवर्तनको तर्क गरे पनि व्यवहारतः यथास्थिति र गोलचक्करको आहारा बन्न पुग्छन् । जुन वर्ग, शक्ति र प्रवृत्तिले परिस्थिति र अन्तर्विरोधलाई अरुले भन्दा पहिले बुझ्छ र समाधान गर्ने साधनहरु निर्माण गर्छ राजनीतिक सङ्घर्षमा उही सफल हुने हो । त्यो पनि अग्रगामी समाधान गर्नका लागि अग्रगामी साधनको निर्माण गर्नुपर्छ । यसको बोध हाम्रो पार्टीले ग¥यो, साम्राज्यवादको हस्तक्षेप र त्यसलाई समाधान गर्ने मोर्चाको निर्माण आवश्यक छ भन्ने प्रस्ताव अगाडि सा¥यो । यही धारणा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीमा पनि बनेपछि मोर्चा गठन प्रक्रिया सफल भयो । यसरी विश्लेषण गर्दा समाजवादी मोर्चा कुनै अस्तित्ववाद, व्यक्तिवाद, प्रतिशोध या सरकारी स्वार्थका लागि गठन भएको होइन । यो अमेरिकी साम्राज्यवाद, उसले संरक्षण गरिरहेको दलाल पुँजीवाद र नेपाली श्रमिक जनताबिचको अन्तर्विरोधले अग्रगामी निकासको माग गरेको आवश्यकता हो । नयाँ अन्तर्विरोधको स्वभावकि र अपरिहार्य आवश्यकताले मोर्चाको जन्म गराएको हो ।
३) समाजवादी मोर्चाको निर्माण केवल वस्तुगत आवश्यकता मात्र पनि होइन । यो कम्युनिस्ट पार्टी र मोर्चामा आवद्ध पार्टीहरुको सचेत पहलले पनि निर्माण भएको हो । परिस्थितिलाई आ–आफ्नो स्तर र क्षमता अनुसार सबैले बुझेकै हुन्छन् । तर वस्तुलाई सही तरिकाले बुझ्ने कुरा त्यसलाई सचेतता पूर्वक संचालन गर्ने पहलसँग जोडिन्छ । कैयौंलाई नेपालको राजनीतिक परिस्थितिमा खासै ठूलो परिवर्तन वा फेरबदल आएको छैन भन्ने लागेको छ । कैयौंलाई सामान्य स्तरमा भएको परिवर्तन हो भन्ने लाग्छ । उनीहरुलाई यो मोर्चा बन्नुको कुनै स्वाद, मर्म र महत्व थाहै छैन । बरु आश्चार्य छ या असैह्य छ । तर हामीले जसरी बुझेका छौं यो नै सही छ अर्थात नेपालमा भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद जहिले–कहिलेभन्दा तीव्र र व्यापक रुपले आएको छ । यदि यसलाई सचेततापूर्वक जनतालाई समयमै नबुझाउने हो र रोक्ने शक्तिको पहल नगर्ने हो भने भोली समयले हामीलाई छोडिसक्छ । हामीसँग पछुताउनु बाहेक केही रहँदैन । त्यसका लागि पार्टी र दृष्टिकोण मिल्ने पार्टीहरुको सचेत पहल आवश्यक पर्छ र अहिले बनेको मोर्चा यही सचेत पहलको उपज पनि हो ।
पुरानै सोच र आँखाबाट हेर्दा हामी पनि मोर्चाबाट बाहिर बस्न सक्थ्यौं । नेपालको मूल समस्यामा अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादलाई होइन माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलाई राख्थ्यौं । संसद्वादी भन्दै समाजवादको मोर्चा नबनाउने या बनाए पनि अन्यसँग मात्र बनाएर सामान्य प्रचारका काम गरेर, पर्चा र कोणसभा गरेर बस्न सक्थ्यौं । तर हामीले नेपाली समाजलाई जहाँ पुगेको छ, त्यही उचाइबाट बुझेका छौं र देखावटी क्रान्तिबाट वास्तविक क्रान्तिमा प्रवेश गर्ने सचेत पहल गरेका छौं । जसले जताबाट तर्क–कुतर्क गरे पनि भोली सहमत हुन आइपुग्ने यहीं हो या विसर्जन हुने हो ।

मोर्चाको सारतत्व
समाजवादी मोर्चाको सारतत्व नवीन अर्थराजनीतिक अन्तर्विरोध र त्यसको निकाससँग आधारित छ । यो सम्पूर्णरुपले कम्युनिस्ट पार्टीकै स्तरमा होइन तर क्रान्तिकारी एवं अग्रगामी विशेषताको पनि हो । यसरी भन्दा मोर्चाका मुख्य सारतत्व पाँचवटा रहेका छन् । पहिलो, यो मोर्चाले दलाल पुँजीवादी सत्तासँग विमति राख्छ र सङ्घर्ष गर्छ । दोस्रो, यसले सबै अग्रगामी कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक, देशभक्त शक्तिहरुको प्रतिनिधित्व गर्दछ । तेस्रो, भूमण्डलीकृत साम्राज्यवादको विरुद्ध लड्छ । चौथो, वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय उत्पीडनका विरुद्ध लड्छ । पाँचौं, देशलाई संसदीय व्यवस्थाको अस्थिरताबाट समाजवादमा रुपान्तरण गर्न पहल गर्छ । जसलाई बुँदामा हेरौं ः
१) दलाल पुँजीवादी सत्ता विरुद्ध सङ्घर्ष गर्नु
२) सबै अग्रगामी कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक र देशभक्त शक्तिको प्रतिनिधत्व गर्नु
३) भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेप विरुद्ध सङ्घर्ष गर्नु
४) वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय उत्पीडन एवं विभेद विरुद्ध सङ्घर्ष गर्नु
५) देशलाई समाजवादमा रुपान्तरण गर्नु

दलाल पुँजीवादी सत्ता विरुद्ध सङ्घर्ष गर्नु
देशमा यतिवेला दलाल पँुजीवादी सत्ता र जनताका बिचमा सङ्घर्ष केन्द्रित छ । सारा जनताले बुझेका छन् कि देशको अस्थिरता, अराजकता, सङ्कटको मुख्य कारण नै संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ता हो । यसबाट जनताले परिवर्तन चाहन्छन् तर नेतृत्व कसले गर्ने या जनतालाई विश्वस्त बनाएर नेतृत्व कसले गर्ने भन्ने प्रश्नको उत्तरमा नै समाजवादी मोर्चा नेपाल निर्माण भएको हो । सामान्य अवस्थामा पार्टीहरुले राज्य रुपान्तरण या संचालनका लागि आ–आफ्ना सोच अगाडि सार्छन् र क्रियाशील पनि हुन्छन् । ती कुनै न कुनै स्तरमा सफल या प्रभावकारी पनि बनेका हुन्छन् । जो सक्दैनन्, ती विसर्जन र समाप्त पनि हुन्छन् । तर विशिष्ट समयमा अन्तर्विरोधको समाधान गर्न नयाँ साधन र संरचनाहरु जन्मिन्छन । परिवर्तनको समग्र लक्ष्यमा कैयौं सीमाका बाबजुद ती पार्टीहरुभन्दा प्रभावकारी बन्छन् । आज दलाल पुँजीवादी सत्ताका विरुद्ध त्यस्तै एउटा समय जुरेको छ । मोर्चामा सहभागि हामी सबै पार्टीहरु आ–आफ्नो विचार र शक्ति अनुरुप राज्य र जनताबिचका अन्तर्विरोधहरु समाधान गर्न क्रियाशील छौं । तर आज दलाल पँुजीवादलाई परिवर्तन गर्न एउटा साझा प्रयास बढाएका छौं । यसले प्रधान समस्या समाधान गर्न जनतालाई बढी आस्वस्त पार्न सक्छ ।

सबै अग्रगामी कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक र देशभक्त शक्तिको प्रतिनिधत्व गर्नु
समाजमा निर्माण हुने सबै पार्टीले समाजमा विद्यमान कुनै न कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्रको प्रतिनिधित्व गर्छन् । त्यहाँ तिनको विचार, चाहना, हित र स्वार्थ केन्द्रित भएको हुन्छ । कहिले एउटा हिस्सा, कहिले ठूलो हिस्सा कुनै पार्टी र संस्था वरिपरि सङ्गठित हुन आउँछ । तर जब मुख्य अन्तर्विरोधलाई समाधान गर्न खोजिन्छ, कुनै एकको शक्तिले मात्र संभव नहुँदा एकता र सहकार्यका नयाँ आधारहरु आवश्यक बन्छन । त्यसबेला विविध रुप र गुणका मोर्चाहरु निर्माण हुन पुग्छन् ।
समाजवादी मोर्चा चार पार्टीको केन्द्रीकरण हो । यसले केवल आ–आफ्नो पार्टीको शक्ति मात्र मोर्चाबद्ध गर्दैन, बरु समाजमा सक्रिय कम्युनिस्ट, समाजवादी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुको केन्द्रीकरण गर्छ । यदि पार्टीहरु यतिबेलै जनताले चाहेको जस्तो परिवर्तन एक्लै गर्न योग्य भएको भए यो मोर्चा आवश्यक पर्ने थिएन । केही कामहरु नहुने र नभएका होइनन तर जनचाहनाको स्तरमा ती अपर्याप्त छन् । त्यसैले मुख्य अन्तर्विरोध समाधान गर्न समाजको ठूलो हिस्सालाई एकीकृत विचार र सङ्घर्षमा केन्द्रीकरण गर्न यो मोर्चा बनेको छ ।

भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेप विरुद्ध सङ्घर्ष गर्नु
हरेक सङ्गठन, मोर्चा र संस्थाको निर्माणमा अन्तर्राष्ट्रिय राजनीतिक प्रभाव पनि हुन्छ । आजको विश्व झन् यति भूमण्डलीकृत एवं एकीकृत छ कि हरेक पार्टी र मोर्चाको निर्माणमा प्रभाव अनिवार्य हुन्छ या हुन आइपुग्छ । हामीले स्पष्ट भनेका छौं कि आजको विश्व भूमण्डलीकृत विश्व हो, यसमा अमेरिकाले एकध्रुवमा जोड दिन खोजे पनि संभव छैन । विश्व बहुध्रुवमा प्रवेश गरिसकेको छ । बहुध्रुवले विश्व ध्रुवीकरण र विभाजनलाई झन् तीव्र बनाइदिएको छ । नेपालमा पनि यसको प्रभाव विशेषतः नेपालको भूअवस्थितिले यसलाई बढी संवेदनशील स्थानमा राखेको छ ।
अमेरिकाले लुकाइ–छिपाइ होइन खुलमखुल्ला नेपाललाई आफ्नो सैन्य मोर्चामा हुल्न चाहन्छ । उसलाई कसले के भन्छ भन्नेभन्दा जसरी पनि आउनु पर्छ भन्ने लागेको छ । सरकार अलिकति लरखराउने वित्तिकै देश कता पुग्छ भन्नै नसकिने स्थितिमा छ । उसको उपस्थितिले स्वभावतः विश्वशक्ति र क्षेत्रीय शक्ति बन्दै गएका चीन र भारतलाई पनि सैन्य मोर्चामा सक्रिय बन्न बाध्य पार्नेछ । यसले देशलाई कता पुगाउँछ सजिलै अनुमान गर्न सकिन्छ । यदि हामीले ध्यान नदिने हो भने नेपाल नयाँ युक्रेन बन्न पुग्नेछ । यसको सामना या समाधान गर्नका लागि पनि यो समाजवादी मोर्चा निर्माण भएको हो ।

वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय उत्पीडन एवं विभेद विरुद्ध सङ्घर्ष गर्नु
कुनै पनि राजनीतिक सङ्गठनले खास वर्ग, जाति, समुदाय, क्षेत्र मध्ये कुनै एक वा एकभन्दा बढीको प्रतिनिधित्व गर्नु पर्दछ र गरेको हुन्छ । समाजवादी मोर्चाले आजको सन्दर्भमा सम्पूर्ण उत्पीडित एवं श्रमिक वर्ग, जाति, लिंग, क्षेत्रको एकीकृत प्रतिनिधित्व गर्दछ । उनीहरुलाई एकताबद्ध गर्दै उनीहरुमाथि भइरहेका विभेद, उत्पीडन, शोषणका विरुद्ध न्यायपूर्ण सङ्घर्ष गर्दा शक्तिको केन्द्रीकरण र परिचालन बलियो बन्छ ।

देशलाई समाजवादमा रुपान्तरण गर्नु
राजनीतिक विचार, व्यवस्था र सत्ताका दृष्टिले समाजवादी मोर्चाले नेपाली विशेषतायुक्त समाजवादको नेतृत्व एवं प्रतिनिधित्व गर्दछ । यो मोर्चामा सहभागि तीनवटा पार्टीहरु सरकार र संसद्मा छन् भने नेपाल कम्युनिस्ट पार्टी सडकमा या जनता माझ छ । यसले कैयौंलाई लाग्छ कि सरकार र संसद्मा रहेका पार्टीहरुले संसदीय व्यवस्थाको नेतृत्व गरिरहेका छन् या उनीहरुले समाजवादको नेतृत्व कसरी गर्न सक्छन् ? तर सरकार, सदन, पार्टी सबैलाई जनता र देशको सेवा गर्ने साधनका अर्थमा बुझ्दा कुनै समस्या पर्दैन । यी सबै मञ्च र साधनलाई राज्य रुपान्तरणको पक्षमा मजाले सदुपयोग गर्न सकिन्छ । यसबेला सरकार र संसद्मा रहेका पार्टी र हामी सबैले मोर्चालाई समाजवाद स्थापना गर्ने लक्ष्यसँग जोडेपछि समाजवादी मोर्चा निर्माण भएको छ र सहकार्य सहज भएको छ ।
३) मोर्चाको लक्ष्य
साधारणतः हरेक संस्था र सङ्गठनको आफ्नो विशेषताको उद्देश्य र लक्ष्य हुन्छ । समाजवादी मोर्चा नेपालको पनि आफ्नो स्पष्ट लक्ष्य छ । यसको अवधारणा पत्रमा प्रष्ट उल्लेख छ यसको लक्ष्य नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हो । यसका लागि मोर्चाले चार काम गर्नेछ ।
१) दलाल पुँजीवादी राज्य सत्ताको परिवर्तन
२) नेपाली विशेषताको समाजवाद स्थापना
३) देशलाई स्वाधीन बनाउनु
४) जनतालाई अधिकार सम्पन्न गराउनु

दलाल पुँजीवादी राज्य सत्ताको परिवर्तन
हामी २०६४पछि जुन गणतन्त्रात्मक संसदीय व्यवस्था सङ्गठित ग¥यौं, यो २०४७को राजतन्त्रात्मक संसदीय व्यवस्थाभन्दा प्रगतिशील एवं जनपक्षीय छ । यसले हजारौं वर्षदेखिको सामन्तवादी अर्थसम्बन्ध र राज्य व्यवस्थामा आमूल परिवर्तन गरेको छ । तर यो जनताको सत्तामा बदलिन सकेन । सत्ताको मालिकमा दलाल पुँजीपति वर्ग पुग्यो । आज नेपालमा अमेरिकी साम्राज्यवादलगायतका शक्तिकेन्द्रले नेतृत्व गरेको दलाल पुँजीवादी सत्ता र जनताको बिचमा प्रधान अन्तर्विरोध बनेको छ ।
दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको कारण देशको अर्थतन्त्र कमजोर बनेको छ । राजनीतिक अस्थिरता र सङ्कट चर्किदै गएको छ । देशको स्वाधीनतामा चुनौंति बढेको छ । जनताका अधिकारहरु कार्यान्वयन हुन सकेका छैनन् । यसको समाधान खोज्नु राजनीतिक आन्दोलन, पार्टी र नेताहरुको प्रमुख जिम्मेवारी बनेको छ । वैज्ञानिक समाजवादी मोर्चाले यसको निकासको विचार लिएर अगाडि आएको छ । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको परिवर्तन गर्नु यसको पहिलो काम हो ।
नेपाली विशेषताको समाजवाद स्थापना
नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको लक्ष्यको दोस्रो काम हो । हामीले केवल परिवर्तन या दलाल पुँजीवादी सत्ताको अन्त्यको कुरा गरेर मात्र पुग्दैन । दलाल पुँजीवादी सत्ताको अन्त्यपछि आजसम्म पुरा नभएको जनचाहनालाई पुरा गर्ने काम गर्नुपर्छ । त्यो पुरा गर्ने काम नेपाली विशेषताको समाजवादले गर्छ । यसरी हेर्दा मोर्चाले प्रस्ताव गरेको समाजवाद दलाल पुँजीवादी व्यवस्थाको अग्रगामी रुपान्तरण या निकास हो ।

देशलाई स्वाधीन बनाउनु
समाजवादी लक्ष्य पुरा गर्नका लागि मोर्चाले गर्ने तेस्रो काम देशलाई स्वाधीन बनाउनु हो । नेपाली जनताको सदियौं पुरानो चाहना देशलाई स्वाधीन बनाउनु हो, तर त्यो अझै पुरा हुन सकेको छैन । हाम्रो देश सुगौली सन्धिदेखि आजसम्म पूर्णरुपले स्वाधीन बन्न सकेको छैन । १९४७सम्म अग्रेजको अर्धोपनिवेश बनेको नेपाल हाल भारतको अर्धोपनिवेश जस्तो बनेको छ भने पछिल्लो समय अमेरिकी भूमण्डलीकृत पुँजीवादबाट उत्पीडित हुँदै गएको छ । नेपालमाथि लादिएका सुगौली सन्धीदेखि पछिल्ला गण्डक, कोशी, महाकाली, १९५०को सन्धी जस्ता सन्धीहरु खारेज हुन सकेका छैनन् । बरु उल्टै एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरु लादिंदै गएका छन् । हामीले दलाल पुँजीवादी सत्तालाई समाजवादमा रुपान्तरण गर्ने प्रकृयासँगै देशको स्वाधीनता पनि प्राप्त हुँदै जानेछ ।

जनतालाई अधिकार सम्पन्न गराउनु
जनतालाई अधिकार सम्पन्न गराउनु समाजवादी लक्ष्यसँग जोडिएको चौथो काम हो । गणतन्त्रको स्थापनापछि पनि मजदुर, किसान, बुद्धिजीवी, सेनाहरुको राज्यमा सहभागिता छैन । महिलाहरुलाई समानता र सुरक्षा छैन । जनजाति, मधेशीहरु सत्ताको वास्तविक मालिक बन्न पाएका छैनन् । श्रमिक समुदायमाथिको अमानवीय उत्पीडन समाप्त भएको छैन, सत्तामा उनीहरुको पहुँच छैन । विद्यार्थीहरुलाई चाहेजस्तो शिक्षा लिने वातावरण छैन । युवालाई रोजगारी छैन । जनताका लागि स्वास्थ्य सुलभ छैन । बुद्धिजीवी, वैज्ञानिकहरुलाई संरक्षण र सहुलियत छैन । यी सबै विषय जनअधिकारसँग जोेडिएका विषय हुन् । यसको समाधान दलाल पँुजीवादबाट संभव छैन । समाजवादले यी क्षेत्रमा आजको भन्दा राम्रो परिणाम दिनेछ ।

निष्कर्ष
राजनीतिक विज्ञानको नियम नै छ कि नयाँ काम गर्दा जहिले पनि धक्का पैदा हुन्छ । जनयुद्ध, संविधान सभा, एकीकृत जनक्रान्ति, चुनाव बहिस्कार, उपयोग, मोर्चा, उत्पादन, बलप्रयोग यी सबै कार्यमा प्रवेश गर्दा यसरी नै पुरा भए । समाजवादी मोर्चामा प्रवेश गर्दा पनि एउटा धक्का देशमा महसुस गरिएको छ । यसमा केही जोखिम छ भने केही अवसर पनि छ । केही नकारात्मक संभावना छ भने केही सकारात्मक संभावना छ । हामीले व्यक्त भएको आलोचना, सुझाव र धारणाहरुलाई गंभीरतापूर्वक लिएर काम गर्नुपर्छ । तर हामीलाई विश्वास छ कि मोर्चाले नेपाललाई समाजवादमा रुपान्तरण गर्ने लक्ष्य लिएर एउटा आफ्नो ऐतिहासिक कार्य पुरा गरिसकेको छ । लक्ष्यतिर कसरी बढ्ला हेर्दै जानु पर्छ तर दलाल पँुजीवाद र संसदीय व्यवस्थालाई छोडेर समाजवादतिर जाने निर्णय लिनु आफैमा एउटा क्रान्ति हो । यो जुन परिस्थिति र बुझाईमा बनेको छ, यसबाट भन्न सकिन्छ कि अगामी दिनमा पनि जोखिम र नकारात्मक पक्षलाई रोकेर अवसर र सकारात्मक संभावनालाई सार्थक बनाउन जोड दिने छ । तथापी हामी जसले यो मोर्चाको आवश्यकता र महत्वबोध गरेर निर्माण ग¥यौं, यसको सारतत्व र लक्ष्यबारे सबैलाई बुझाउन बाँकी नै छ, बुझाउनै पर्छ ।
हामीले यो पनि बुझ्नै पर्छ कि पार्टी र नेताको भूमिका नै राजनीतिक क्षेत्रमा पैदा हुने नयाँ परिस्थिति, अन्तर्विरोध, समस्या र संभावनाहरुलाई एक दुई कदम अगाडिबाट देख्नु, नागरिक सामु सत्यतथ्य राख्नु, बोध गराउनु र समाधानका उपायहरु प्रस्तुत गर्नु हो । देश अन्यौलको भूमरीमा परिरहेको बेला समाजवादी मोर्चाले जनतामाझ समाजवादी व्यवस्थाको निकास दिएर यो भूमिका दह्रोसँग पुरा गरेको छ । यसलाई सफल बनाउनु पार्टीको अहम् दायित्व हो ।

  • जनक्रान्ति साताैँ अङ्कवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु