गैर मानवीय हर्कतको घोर विरोघ र भत्र्सना

२०७६ असार २२ गते, आईतवार

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी सामानहरु लुटपाट गरेर लगेकोप्रति घोर भत्र्सना तथा आपत्ति जनाएको छ । सो पार्टीका धनुषा जिल्ला इन्चार्ज प्रकाशले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी धनुषाका इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘२०७६ असार १८ गते धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर स्थित हाम्रो पार्टीका व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी गरेको छ । घरमा कोही नभएको समयमा दिउँसो ३ बजेतिर धनुषाधाम इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा आएको प्रहरी टोलीले उक्त नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकुमार साहको रोहबरमा घरको ताला तोडी घर खानतलासी गरिएको र घरमा भएका सामान (पुस्तकहरु, मसला कुट्ने खल र मुस्ली) सहित लुटपाट गरेर लगेको छ । घरभित्र भएका सामानहरु छरपस्ट पारिएको छ । साथै केही समय अगाडि प्रहरीद्वारा गैर मानवीय ढङ्गले गिरफ्तार गरिएका हाम्रो पार्टीका जिल्ला सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य धनुषाधाम नगरपालिका वडा नं. ३ सिकियाहीस्थित जाहिर राइनको घरमासमेत प्रहरीले घर खनतलासी गरी घरपरिवार र उक्त क्षेत्रका जनतामा त्रास र आतङ्क सिर्जना गरेको छ ।’
विज्ञप्तिमा प्रकाशले भनेका छन्, ‘राज्यद्वारा गरिएको यस प्रकारको गैर मानवीय हर्कतको हाम्रो पार्टी घोर विरोघ तथा भत्र्सना गर्दछ । मानव अधिकारसमेत हनन हुनेगरी गरिएको यस प्रकारको अन्याय र अत्याचारका विरुद्ध एकजुट हुन सम्पूर्ण उत्पीडित जनसमुदायलाई अपिल गर्दै पत्रकार, बुद्धिजीवी, मानव अधिकारकर्मी लगायतलाई उक्त घटनाको अनुगमन गरी सत्य तथ्य बाहिर ल्याई छानविनमा सहयोग गरिदिनुु हुन आग्रह गर्दछौं ।’

प्रतिक्रियाहरु