केरा बगानमा वितण्डा

२०७५ बैशाख १८ गते, मंगलवार

काठमाडौं, १८ वैशाख । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले गएराति केरा बगान फँडानी गरेको छ । कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा बढी केराका बोट रातको समयमा फाँडिएको थियो । केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए । उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ । फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए । स्थानीय पीडित किसान गोपी लामिछानेले आफ्नो दुई कट्ठा १० धुरमा रहेका सबै ३०० बोट केरा फँडानी भएको बताए । उनका अनुसार सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ कट्ठा क्षेत्रफलमा लगाइएको केरा फाँडिएको छ । उनले भने, ‘यस क्षेत्रका १२ कृषकको केरा फाँडिएको देखिएको छ । अरुको के छ हेर्न बाँकी छ ।’
वर्षभरको मेहनत खेर गएको लामिछानेले चिन्ता व्यक्त गरे । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ । केही दिनअघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्रायः घरमा केरा खेती गरिँदै आएका छन् । बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले घटना रिसइबीकै कारण भएको देखिएकाले अनुसन्धान तीव्र पारिएको बताए ।
उनले आफूले केरा फाँडिएको क्षेत्र हेरेको भन्दै जसरी पनि दोषी पत्ता लगाएरै छाड्ने बताए । जिल्लामा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । ६ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार