अलविदा अम्बर ! – मिलनकान्छा किराती

२०७३ जेष्ठ २६ गते, बुधबार

नौलखा ताराबाट उदाएर आज यही धर्तीको आकाशमा अस्ताएको छ ! यो खबरले करोडौँ हृदयको आँखा ओभानो छैन । म दूर भएर के भो ! अभिषाप छाएर के भो !, वास्तवमै यो गीतमा सही भनेका रहेछन–अम्बर गुरुङले । किनकि, यस्तो लाग्छ– ऊ गएको त्यो बाटो धेरै सुन्दर छ ! जो, सबै–सबै जानेहरु चुपचाप जान्छन, बस्नेहरु डाँको छाडेर रुन्छन । हो, हामी सबैलाई त्यसैगरी रुवाए । उनी एक्लै गए ! नौलखा तारा उदाए, धर्तीको आकाश हाँसेछ ! शरद लाग्यो वनमा, फूलले प्रिती गाँसेछ !, उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला ! मर्मलाई बुझ्ने तिमी मेरो, तिमी नभए अरु को होला !, कहिले लहर मनमा चल्छ, कहिले आँधी चल्छ, यो जिन्दगीको के कुराजस्ता थुप्र–थुप्रै सयौं लोकप्रिय, कारुणिक, मर्मस्पर्शी र कालजयी गीतहरु छाडेर उनी अन्ततः एक्लै गए । रित्तो गए । बरु, अक्षरका आवाजहरु, कहाँ गए ती दिनहरु, कहिले लहर कहिले तरङ्ग, सम्हालेर राख जस्ता अझ थुप्रै दुर्लभ कृतिहरु छोडेर गएकाछन । नेपाली गीत–सङ्गीत उत्थानमा उनले अतुलनीय योगदान दिएर गएकाछन । उनी नेपाली साङ्गितिक आकाशमा कहिल्यै नअस्ताउने चम्किलो तारा बनेर प्रत्येक नेपाली मन–मुटु, हृदयमा चम्किरहनेछन । उनले हाम्रो हृदयमा अमीट छाप छोडेर गएकाछन ।
अम्बर गुरुङको खातीर लाखौ मनहरु सामाजिक सञ्जालमा विक्षिप्त पोखिए–रेस्ट इन पिस ! समयबोध मासिकका सम्पादक लेखनाथ न्यौपानेले स्टाटसमा रिप्लाई लेखेका थिए–समयबोध म्यागेजिनको एक अन्तरवार्तामा अम्बर गुरुङले भनेका थिए,‘हामी दार्जिलिङबाट नेपाल फर्किन चाहदैनथ्यौँ । तर, पूर्खाको लास नेपालमै गाडिएको छ, रगत–आँशु, पसिना यहीँ पुछिएको छ, त्यसैले पनि नेपाल आयौँ ।’ पूर्खाको रगत, पसिना र आँशुले सिञ्चिएको नेपाल अम्बरको आफ्नो माटो हो । उनले ओढेको आकाशमुनि स्वभिमानको घाम मुसुक्क हाँसेको छ । उनको छातीभित्र बगेका छहरा–छाङ्गाहरु तराईको फाँटसम्म पुस्तौ स्वतन्त्र बग्नेछन । उनले संसारभर वीर–गोर्खालीको नामले चिनिएको वीर–पूर्खाको शिर सङ्गीतबाट उँचो बनाएर गएकाछन । जीवनको दुःख–सुखका हरक्षणलाई करोडौ हृदयले उनको गीत–सङ्गीतभित्र स्पर्श गरेकाछन । निकै दुःख कष्टका साथ साङ्गितिक क्षेत्रमा सङ्घर्ष गरेको बताउने वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले जीवनको उत्तराद्र्धमा राष्ट्रिय गानको माधुर्य सङ्गीत भरेर हामीलाई ऋणी बनाई दिएकाछन । काठमाडौँ धापासीको ग्राण्डी अस्पतालमा जीवनको अन्तिम पाइला रोकेपनि उनको पदचाप अगाडी बढिरहनेछ । उनी हामी सबै नेपालीको मन–मुटुमा धड्किरहनेछन ।
सन १९३८ फेब्रुअरी २६ तारिखको दिन भारतको दार्जिलिङमा जन्मिनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ जीवनका अनेकानेक आरोह–अवरोह छिचोल्दै सङ्गीत क्षेत्र सँधै उर्वर बनाएर गएकाछन । नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति भएका कारण पक्कै नाट्य क्षेत्रमा पनि उनको योगदान रहेकोछ । । गोरखा जिल्लामा पूख्र्यौली घर भएका उनले पाँच दशक लामो साङ्गितिक उडान भरेकाछन । त्यसबीचमा उनलाई सङ्गीत, कला र संस्कृतिको जगेर्ना गरेको भन्दै गोरखा दक्षिणबाहु चौथो २०२८, ईन्द्रराज्यलक्ष्मी पुरस्कार २०३८ , छिन्नलता गीती पुरस्कार २०४७ , जगदम्बाश्री पुरस्कार २०५४ जस्ता थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुदै २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशकसमेत भएका थिए । तीन छोरा र एक छोरीकी पिता अम्बर गुरुङ हामी करोडौँ नेपालीको पिता हुन । उनले हामीलाई टुहुरो बनाएर गएकाछन ! उनको योगदान सम्झिरहनेछौँ । उनले देखाएको पदचाप पच्छ्याईरहने छौँ । यस्तैछ संसारिक नियति ! आयो टप्प टिप्यो, छुट्टिने मिती पुग्यो, अलविदा अम्बर !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु