अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा मार्क्सप्रति उच्च सम्मान व्यक्त

२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल मार्क्सप्रति उच्च सम्मान व्यक्त गरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले कार्ल मार्क्सको २०७ औं जन्म दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो सम्मान व्यक्तगरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘ आज सन २०२४ मे ५ तारिख ( बि. सं. २०८१ बैशाख २३ गते ) । आजकै दिन अर्थात सन १८१८ मे ५ का दिन जर्मनीको प्रसिया प्रदेश अन्तर्गत ट्रियर शहरमा सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिध्दान्त ” मार्क्सवाद ” का प्रतिपादक दार्शनिक कार्ल मार्क्सको जन्म भएको थियो । र , यस धर्तीमा कार्ल मार्क्स उदाएको आज २०६ वर्ष पुरा भएर २०७ औं वर्षमा प्रवेश गरेको छ । आज विश्व सर्वहारा वर्ग एवं श्रमजीवी वर्गले आफ्नो गुरुको २०७ आौं जन्म दिवस धुमधामका मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार महान् दार्शनिक तथा साम्यवादका सिध्दान्तकार कार्ल मार्क्स प्रति उच्च सम्मानका उहाँको २०७ आौं जन्म दिवस प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास , दोस्रो चरणमा लेनिनवादको विकास र तेस्रो , नयाँ र उच्च चरणमा माओवादको विकास गरिसकेको छ र आज मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य इकाईका रुपमा मार्क्सवाद – लेनिनवाद – माओवाद रहेको छ ।
एकातिर यसप्रकारको अवस्था रहेको छ भने अर्कोतिर मार्क्सवादको विरोधी धारा दक्षिणपन्थी संशोधनवादले शास्त्रीय संशोधन – आधुनिक संशोधनवाद हुँदै नवसंशोधनको बाटो भएर प्रतिक्रियावादमा परिणत भइसकेको अवस्था छ । यसप्रकारको विश्व परिस्थितिका कारण एकातिर दक्षिणपन्थी संशोधनवाद हावी भइरहेको छ भने अर्कोतिर क्रान्तिकारी मार्क्सवाद ( मालेमावाद) रक्षात्मक अवस्थामा पुगेको छ । मार्क्सले ” विश्वका सर्वहारा हो , एक होआौं ” भन्नु भएको थियो र मार्क्सले सन १८६४ मा विश्व कम्युनिस्ट आन्दोलनमा आफ्नै नेतृत्वमा ” पहिलो अन्तर्राष्ट्रिय ” को गठन र सञ्चालन गर्नुभएको थियो । मार्क्सको मृत्यु पश्चात् सन १८८९ मा फ्रेडरिक एंगेल्सले ” दोस्रो अन्तर्राष्ट्रिय ” को गठन र सञ्चालन गर्नुभएको थियो । त्यस्तै सन १९१९ मा लेनिनले ” तेस्रो अन्तर्राष्ट्रिय” को गठन सञ्चालन गर्नुभएको थियो । सन १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको विघटन हुन पुग्यो र त्यसपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन लामो समयसम्म “अन्तर्राष्ट्रिय ” विहिन हुन पुग्यो । तर सन १९८४ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुद्वारा ” क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन “( रिम ) को गठन गरिएको थियो । तर रिमको पनि विघटन हुन पुगेपछि आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ” अन्तर्राष्ट्रिय ” विहिन अवस्थामा पुगेको छ । यसप्रकारको जटिल अवस्थामा मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , विकास र प्रयोगको निम्ति आज विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एउटा ” नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन ” को निर्माण गरेर एकताबध्द भएर अगाडि बढेमा मात्र महान् दार्शनिक तथा आफ्नो गुरु कार्ल मार्क्सको २०७ औं सच्चा जन्म दिवस मनाएको ठहर्नेछ भन्ने हाम्रो ठहर छ । ‘

प्रतिक्रियाहरु