जेठ २७ गते नेपाल बन्द

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौँ, १७ जेठ । नेकपा माओवादीले आउदो जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ । माओवादीका प्रबक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । प्रबक्ता प्रकाण्डले विज्ञाप्ति मार्फत राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनैतिक अधिकार र जन जीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले हाम्रो पार्टीका नेता, कार्यक्रता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने फाँसिष्ट हर्कतहरु गरिराखेकाले नेपाल बन्द गर्नु बिकल्प नरहेको बताएका छन । उनले बिज्ञप्तिमा झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जन परिषद प्रमुख .राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई हालसम्म जेलमा राखेकोमा तिब्र रोष प्रकट गरेका छन ।
प्रबक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ :
“हाम्रो पार्टी स्थापना काल देखि नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको जनवादी राजनैतिक अधिकारको निम्ति संघर्षरत पार्टी हो । यो बीचमा पार्टीको नेतृत्व र आहृवानमा नेपाली जनताले राष्ट्रियता र जनवादको पक्षमा ठूल–ठूला संघर्ष गर्दै आएको कुरा आम नेपाली जनतामा विदितै छ । नेपाल राष्ट्रको पूर्ण स्वाधिना र नेपाली जनताको जनवादी राज्य व्यवस्था स्थापना नगर्दा सम्म हाम्रो पार्टी निरन्तर संघर्षरत सही रहने छ ।
हाम्रो पार्टीले राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनैतिक अधिकार र जन जीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले हाम्रो पार्टीका नेता, कार्यक्रता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने फाँसिष्ट हर्कतहरु गरिराखेका छन् । हालसम्म झापा जिल्ला पार्टी सचिव क.बाबुराम राई, जिल्ला सदस्यहरु क.चमनलाल माझी र क.पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जन परिषद प्रमुख क.राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु क.कृष्ण खतिवडा र क.हरिशरण नेपाललाई जेलमा हालिराखेको छ । सरकारको यो निरंकुश रवैयाको पार्टी घोर निन्दा एवं भ्रात्सना गर्दछ ।
झापा, जुम्ला र धादिङ जिल्लामा गिरप्तार गरी जेलमा हालिएका नेता र कार्यक्रताको विना शर्त रिहाको निम्ति हाम्रो पार्टीले जेष्ठ २१ गते मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली व्यूरोहरु बन्द र जेष्ठ २७ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त बन्दलाई सफल पार्न न्याय प्रेमी नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । “

प्रतिक्रियाहरु