‘नेतृत्वको असक्षमताका कारण राष्ट्रिय स्वाधीनता धरापमा’

२०७२ चैत्र २६ गते, शुक्रबार

काठमाडौं, २६ चैत । अस्वस्थ राजनीतिक गतिविधि र राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण राष्ट्रिय स्वाधिनता धरापमा परेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । देशभक्त संघिय जनवादी मोर्चाको आयोजनामा बुटवल उपमहानगरपालिकाको हलमा सम्पन्न ‘वर्तमान राजनीतिक परिस्थिती र राष्ट्रिय स्वाधिनताको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिंकाश बक्ताहरुले राष्ट्रिय स्वाधिनता रक्षाको लागी एकपटक सबै जनताहरुले राष्ट्रियताको लडाईँमा होमिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका देशभक्त संघिय जनवादी मोर्चा नेपालका केन्द्रिय अध्यक्ष तिलक परियारले वर्तमान राजनीतिक परिस्थिती र राष्ट्रिय स्वाधीनताको विषयमा झण्डै ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै विद्यमान राजनितिक अवस्थाले देशको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र जनादेशबाट प्राप्त अधिकारको रक्षा समेत गर्न नसकेको भन्दै यसको लागी छुट्टै मोर्चाबन्दी गरेर फेरी एउटा राष्ट्रियताको आन्दोलन जरुरी रहेको औल्याएका थिए ।
प्रस्तुत कार्यपत्रमा विश्वपरिस्थिती, जनआक्रोशको अवस्था, नवऔपनिवेशिक अवस्था, जल सम्पदामा औपनिवेशिकरण सहित शारदा बाँध सम्झौता, कोशि सम्झौता, गण्डक सिँचाई तथा विद्युत सम्झौता, महाकाली सन्धी, जलविद्युत परियोजनामाथी भारतीय एकाधिकार, भारतीय बजारको हस्तक्षेप, नेपालमा भारतको सुक्ष्म व्यवस्थापन, सिमा अतिक्रमण र हस्तक्षेप लगायतका विषयमा खुलेरै विरोध गर्दै नयाँ जनवादी क्रान्ति गरी नेपाली स्वाधिनताको रक्षा गर्नुपर्ने उल्लेख छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले भारतले नेपालमा सीमा हस्तक्षेप, पानीमाथीको हस्तक्षेप, राजनीतिक, आर्थिक, सामाजिक तथा भौगोलीक र सबै क्षेत्रमा हस्तक्षेप गरेको भन्दै यसको विरोध गरेर मात्रै नहुने र भारतसँग अन्तिम युद्ध लड्नै पर्ने बताएका थिए । कार्यक्रममा साहित्यकार तथा बरिष्ठ बामपन्थी बुद्धिजीवि दिल साहनी, बुद्धिजीवि तथा बरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल, नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रिय सल्लाहकार भुलबहादुर सुनारी, प्रगतिशिल लेखक विनबहादुर कुँवर, मालेमा अध्ययन केन्द्रका आरसी चापागाई, विकास केसी, राष्ट्रिय स्वाधिनताको लागी नागरिक मञ्चका रुपन्देही अध्यक्ष पदम कार्की, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दलबहादुर छन्त्याल लगायतले साम्राज्यवादी र विस्तारवादी शासकहरुले देशको स्वाधिनतामाथी आँखा गाडेको भन्दै नेपाललाई पूर्ण स्वतन्त्र बनाउँनको लागी राष्ट्रियताको लडाई लड्नेलाई आफूहरुले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । केन्द्रिय सदस्य तथा कार्यक्रमका अध्यक्ष अज महमदको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य संघप्रसाद थारुले गरेका थिए । – शिव डुम्रे

प्रतिक्रियाहरु