सिंहदरवार नै कालोबजारीको आश्रय स्थल : आपूर्तिमन्त्री

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौं , २५ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले कालोबजारी गर्नेहरुलाई तह लगाउन युवा विद्यार्थीहरुको सहयोगको अपेक्षा गरेको बताएका छन ।
उनले प्रमुख प्रशासनिक निकाय सिंहदरबार नै कालोबजारी गर्नेहरुको आश्रयस्थल बनेको बताउदै कालोबजारी गर्नेहरुलाई तह लगाउन आफूहरु क्रियाशील रहेको र यो काममा युवा विद्यार्थीहरुको सहयोगको अपेक्षा गरेको बताए । मन्त्री पुनले अखिल क्रान्तिकारी सिटिइभिटी कप २०७२ को ल्यावरोटरी मैदानको कीर्तिपुरमा उदघाटन गर्दै सो कुरा बताएका हुन् । हामी सिहंदरवारमा आश्रय लिएका कालोबजारीलाई तह लगाउँछौं, सकेनौं भने तपाईं युवा विद्यार्थीको सहयोग माग्छौं’ उनले भने । उनले आयल निगमको भण्डारण क्षमता बढाउने तयारी भइरहेको जानकारी पनि दिए । ‘अहिले आयल निगमको भण्डारण क्षमता १६ दिनको मात्र छ । अब चाँडै नै यसलाई हामी ९० दिनको बनाउँदैछौं ।’ तत्कालका लागि काभ्रेको पाँचखाल, धादिङको खैरेनीटार र नुवाकोटको बट्टारमा भण्डारण केन्द्र बनाइने उनले बताए । तर, सरकारले सातवटै प्रदेशमा भण्डारण केन्द्र बनाइने योजना बनाइरहेको उनले जानकारीसमेत गराए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले आफूहरु स्ववियु निर्वाचनमा जान आतुर भएको भन्दै तत्काल मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे । उनले स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागु हुनुपर्ने आफूहरुको अडान कायमै रहेको स्पष्ट पारे ।
‘युवा विद्यार्थीहरुले स्ववियु निर्वाचन चाहेका छन् । त्रिभुवन विश्वविद्यालयले अविलम्ब मिति तोकोस्,’ न्यौपानेले भने, ‘स्ववियुमा नियमित विद्यार्थी लड्नुपर्छ । अहिलेको त्रिवि विनियम सबै संगठनको सहमतिको दस्तावेज भएकाले यसैको आधारमा चुनाव हुनुपर्छ । हामी चुनावमा जान आतुर छौं ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष युवराज लामाले भने, ‘अब नयाँ संविधान कार्यान्वयनका लागि खेलकुदमार्फत लाखौं युवाहरुलाई गोलबन्द गर्नुपर्दछ ।’ पाँच दिनसम्म चल्ने प्रतियोगितामा सिटिइभिटी अन्तर्गतका १० कलेज सहभागी रहेका अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रियाहरु