‘ईयू र भारतको संयुक्त विज्ञप्ति नाङ्गो हस्तक्षेप’

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २२ चैत । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार राष्ट्रवादी नभएको बताएका छन् । अहिलेको सरकारबाट राष्ट्रियताको रक्षा हुन नसक्ने बताउँदै स्वाधिनताको रक्षा गर्न एकीकृत जन क्रान्तिको विकल्प नभएको बताए । सोमबार संवाद डबलीमा देशभक्त संघीय जनवादी मोर्चाले गरेको कार्यक्रममा वास्तोलाले भने “नयाँ संविधान र सरकार भारतीय जासुस संस्था ‘रअ’, कांग्रेस आई र बिजेपीको डिजाइन अनुसार निर्माण भएकाले यसप्रति राष्ट्रवादको भ्रम पाल्न बेकार हुन्छ ।”
वर्तमान सरकारको ठाउँमा अर्को सरकारको निर्माण गर्न युरोपियन युनियन र भारत लागिपरेको बताउँदै जुनसुकै सरकार आएपनि विदेशी कठ्पुतलीबाहेक अरु केही नहुने बताए । नेपालका राजनीतिक नेताहरु भ्रष्ट र अराजनीतिक भएकाले देश र जनता विश्वसामु अपहेलित हुनु परेको उनको भनाई छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य हरिभक्त कँडेलले सिमित व्यक्तिहरुको चुरिफुरिले मात्रै नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्ने बताएका छन् । माईक्रो म्यानेजमार्फत भारतले नेपालमाथि हस्तक्षेप जारी राख्दै आएको बताउँदै भने “नेपालमा राजसंस्था फर्कने अवस्था नरहे पनि अस्थिरता कायम राखेर स्वाधीनतालाई कमजोर बनाई राख्ने खेल भारतीय विस्तारवादले गरिहेको छ ।”
अर्को प्रसंगमा कँडेलले अहिले नै कुनै पार्टीसँग सहजै एकता हुन नसक्ने बताउँदै संयुक्त मोर्चामार्फत संघर्ष चलाएर मात्र राष्ट्रियता जगेर्ना गर्न सकिने बताए ।
कार्यक्रममा देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारत र ईयूको संयुक्त विज्ञप्तिले नेपालको राष्ट्रिय स्वाधीनतामाथि नांगो हस्तक्षेप गरेको बताए । उनले “भारत–ईयूको संयुक्त विज्ञप्ति योजनाबद्ध रुपमा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्न ल्याएको हो” भने ।
एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल ‘आहुती’ले भारतले नेपालका क्रान्तिकारीहरुलाई योजनावद्ध रुपमा अवसरवादी र आत्मसमर्पणवादी बनाउने परिस्थिति खडा गरिरहेको बताए । उक्त योजना बिफल तुल्याउने सम्पूर्ण क्रान्तिकारी माओवादीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कम्युनिष्ट न्युक्लियस नेपालका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले क्रान्तिकारी शक्तिहरु एकजुट भएर वैदेशिक हस्तक्षेपविरुद्ध संघर्ष गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि क्रान्तिका बाँकी कार्यभार पूरा गर्नुपर्ने आजको मुख्य आवश्यकता भएको बताए ।
त्यसैगरी वाम बुद्धिजीवि एकराज भण्डारीले राष्ट्रियता खतरामा परेको अहिलेको अवस्थामा क्रान्तिकारी विचार र नेतृत्वमा देशभक्त शक्तिहरु गोलबन्द हुनुपर्ने बताए ।
त्यसैगरी प्रराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उत्तम उपाय भनेको देशभित्रै सम्भावित खानीहरुको उत्खनन् गरेर आत्मनिर्भरको दिशामा लैजानु पर्ने बताए । श्रेष्ठले भरखरै प्रधानमन्त्री केपी ओलीले चिमेकी चीनसँग गरेको सम्झौता सकारात्मक भएको धारणा बताए ।
सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल चीनसँग नजिक भएको भारतलाई जहिल्यै मन नपर्ने भएकोले अहिले भारत भित्रभित्रै कँुडिएर बसेको र त्यसको प्रतिक्रियास्वरुप ईयूसँग मिलेर भारतले ब्रसेल्सबाट नेपाल विरद्ध संयुक्त विज्ञप्ति निकालेको बताए ।
पूर्वजनरल कुमार फुदुङले भारतले अहिले तराई विखण्डन गर्ने षड्यन्त्रमा लागेको र त्यसतर्फ सरकार बेलैमा सर्तक हुनुपर्ने बताए । विखण्डकारी षडयन्त्र रोक्न सरकारले समयमै पहल नगरे नेपाली सेनाले समेत विखण्डन रोक्न नसक्ने दाबी गरे । देश विकास गर्न चीन र भारत दुवै छिमेकीलाई सन्तुलनमा राख्न जरुरी भएको फुदुङले बताए ।

प्रतिक्रियाहरु