वैद्यको अडानले वादलको बिचल्ली

२०७२ चैत्र १३ गते, शनिबार

काठमाडौं, १३ चैत । कहिले फागुन १ गते जनयुद्ध दिवस परेर त, कहिले शहिद सप्ताह पारेर हुने भनिएको एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकता हुन् नसकेपछि चैतको दोस्रो हप्ताभित्रमा एकताबारे टुंगो लाग्ने बताइएको थियो । तर, हालसम्म यी दुई पार्टीबीचको एकता हुने भर पर्दाे अबस्था देखिएको छैन । प्रचण्ड नेतृत्वको एमाओवादी र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच एकताको प्रयास दुवै पार्टीका नेताहरूले जारी राखे पनि अहिलेसम्म ठोस निर्णय भएको छैन । पार्टी एकतामा एमाओवादीभन्दा पनि क्रान्तिकारी माओवादीभित्र समस्या देखा परेको छ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र महासचिव रामबहादुर थापा ‘वादल’बीच पार्टी एकताका विषयलाई लिएर फरक–फरक लाइन देखापरेको छ । अध्यक्ष किरण माओवादी आन्दोलन, अबको राजनीतिक कार्यदिशा र राजनीतिक दृष्टिकोण स्पष्ट गरेर मात्रै पार्टी एकता गर्नुपर्ने पक्षमा छन् भने महासचिव वादल राजनीतिक कार्यदिशा मिलाउँदै तत्काल पार्टी एकता गरेर जानुपर्ने पक्षमा छन् । नेकपा क्रान्तिकारी माओवादीभित्र यी दुई नेताका लाइन अनुसार कार्यकर्ताहरू पनि त्यस्तै लाइनमा विभाजित भएपछि पार्टी एकतामा समस्या देखिएको हो ।
यसै विषयमा छलफल गर्न शुक्रबारदेखि नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । काठमाडौँको नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणको पार्टी एकता प्रस्तावमाथि छलफल चलिरहोे छ । अध्यक्ष किरणले पेस गरेको एकता प्रस्तावमा पार्टी विचार सिद्धान्त र राजनीतिबिना एकता सम्भव छैन । नेपालमा अझै पनि नयाँ जनवादी क्रान्तिको विकल्प छैन । राजाका स्वरूप र संविधानबारे एमाओवादीले राखेको सारसंग्रहवादी दृष्टिकोण नसच्चिएसम्म पार्टी एकता सम्भव छैन भन्दै मिलेरावाद र मन्त्रिमण्डलवादमा फसेकोसँग एकता सम्भव नभएको उल्लेख भएको बताइएको छ ।
पार्टी अध्यक्ष किरणको एकता प्रस्तावमाथि पुरक तथा सुझाव प्रस्तुत गर्दै महासचिव रामबहादुर थापा वादलले हिजोको मिलेरावाद आजको माक्र्सवाद हो भन्दै परिस्थितिअनुसार सरकारमा सामेल हुन सकिने र त्यसको निम्ति एमाओवादीमा समाहित हुन जरुरी रहेको धारणा राखेको स्रोतले बताएको छ । अब प्रचण्डसँग एकता गर्नु हुँदैन, प्रचण्ड बेइमान छन्, विश्वासघाती छन् भन्ने पार्टीको बुझाई गलत भएको भन्दै एक्लो वीरले क्रान्ति गर्न सक्दैन । त्यसैले बिनासर्त पार्टी एकताको विकल्प छैन भन्दै युवाहरूको विदेश पलायन रोक्न पनि बिनासर्त पार्टी एकता हुनुपर्ने जस्तो हास्यास्पद तर्क पेस गरेको स्रोतले बताएको छ ।
महासचिव वादलले बैठकमा आफ्नो कुण्ठा पोख्दै भने ‘बिडम्बना मलाई पार्टी फुटाएर प्रधनमन्त्री बन्न खोज्यो’ भन्ने आरोप लगाइएको छ । यो सरासर झुट हो, मेरो राजनीतिक करिअर सिध्याउने दाउपेच हो, जे भए पनि पार्टी एकता भने बिनासर्त गर्नैपर्छ । यसै सिलसिलामा सचिव देव गुरुङलाई पनि मन्त्रीकै लागि एकता भन्दै दौडने गरेको कार्यकर्ताको गुनासो आपूmले सुन्ने गरेको भन्दै बैठकमा दुःखेसो पोखेको स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु