वैद्य माओवादीमा विपत्ति, बादल एमाओवादीतिर बुर्कुसी मार्दै

२०७२ चैत्र ७ गते, आईतवार

काठमाडौँ । नेकपा माओवादी पुनर्गठन भएको डेढ वर्ष ननाघ्दै मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पुनः फुटको संघारमा पुगेको छ । लामो समयदेखि वैद्य माओवादीभित्र एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चुलिँदै आएको थियो । तर, हाल क्रान्तिकारी माओवादी पार्टीभित्र अध्यक्ष मोहन वैद्य किरण पक्षधर नेताहरुले सिद्धान्तनिष्ठ एकता हुनुपर्ने अडान नछाडेपछि महासचिव रामबहादुर थापा बादल पक्षधर नेताहरु बिनासर्त एकता हुनुपर्ने भन्दै पार्टीभित्र बबाल मच्चाउन थालेको स्रोतले बताएको छ । पार्टीका अध्यक्ष किरण पक्षले पार्टीको सिद्धान्त नै गुम्ने गरी कुनै पनि हालतमा एकता हुन सक्दैन भन्ने अडान लिएपछि महासचिव बादल पक्ष भने जतिसक्दो चाँडो एमाओवादीमा विलय हुनुपर्ने पक्षमा खुलेर लागेको स्रोतको दाबी छ । क्रान्तिकारी माओवादीभित्र पार्टी एकताका बारेमा विवाद चुलिँदै गएर छताछुल्ल हुन थालेपछि पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयको टुङ्गो लगाउने उद्देश्यले आगामी चैत्र १२ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक डाकिएको स्रोतले बताएको छ । पार्टी केन्द्रीय कमिटिको बैठक अघि चैत ७ गते केन्द्रीय सल्लाहकार समितिको बैठक बोलाएर सल्लाहकारबाट पनि पार्टी एकताको विषयमा धारणा बुझ्न लागिएको बुझिएको छ ।
उता महासचिव बादल पक्षका नेताहरु भने पार्टी फुटाएर भए पनि एमाओवादीमा समाहित हुनुपर्ने भन्दै लविङमा उत्रिएका छन् । यसरी एमाओवादीसँग बिनासर्त विलय हुनुपर्छ भन्ने महासचिव बादल पक्षधर नेताहरुमा देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मायाप्रसाद शर्मा, यशोधा सुवेदी, अमृता थापा मगर, पूर्ण घर्तीमगर, सूर्यप्रकाश सुवेदी, महेश्वर दाहाल, कुमार शाह, इन्द्र आङ्बो, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजित थारु, नारायण अधिकारी, अजित सिंह, तारा घर्ती, दावा तामाङ, कुशल लिम्बु, नेवबहादुर कुँवर, लेखनाथ न्यौपाने, रामदीप आचार्य, बद्री बजगाईं, ज्ञानु बस्नेत, चक्रपाणि शर्मा, लोकबहादुर थापा, पार्वती थापा, सिता आचार्य, नवीन लिम्बु, हुकुमबहादुर सिंह, दीपक मैनाली, दीपक देवकोटा, रत्न ढकाल, युवराज आचार्यलगायत रहेको स्रोतको दाबी छ ।
१९९ सदस्यीय नेकपा क्रान्तिकारी माओवादी करिब ६० हजार केन्द्रीय सदस्य निस्क्रिय रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार ती ६० जना केन्द्रीय सदस्य बैठकमा उपस्थित हुने तर छलफल, बहसको कुनै औचित्य नभएको भन्दै केन्द्रीय समितिको बैठकबाट नै पार्टी फुटाएर एमाओवादीमा विलय हुनुपर्ने लविङमा उत्रिँदै आएको स्रोतको दाबी छ ।
यसैबीच, एमाओवादीले भने नयाँ सरकार गठनमा वैद्य माओवादी फुटाएर एमाओवादी प्रवेश गर्ने नेताहरुलाई प्रधानमन्त्री, अर्थ, गृह, परराष्ट्र, आपूर्ति, ऊर्जा, सिंचाइजस्ता मन्त्रालयको जिम्मेवारी दिन सकिने भन्दै ललीपप देखाएको स्रोतले बताएको छ । प्रचण्डको यही ललीपपमा ¥याल चुहाउँदै वैद्य माओवादी छोडेर एमाओवादीमा बुर्कुसी मार्ने महासचिव बादललगायतको टोलीलाई भविष्यमा भने यो आत्मघाती कदम ठहरिने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरु