काँग्रेसमा क्रियाशील सदस्यता विवाद

२०७२ माघ ४ गते, सोमबार

काठमाडौँ, ४ माघ । नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् ।
काँग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लो पटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार ३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट वञ्चित भएका छन् ।
यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए ।
कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपु¥याई आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो ।
दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदर’को स्थितिमा पार्टी नेतृत्वले कैलालीका छ वटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो ।
पार्टीको यस निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नव प्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली काँग्रेसका सभापति नरनारायण शाह र पूर्व सभापति गोविन्दराज जोशी बताउनुहुन्छ ।
जिल्लामा सभापति शाह देउवा पक्षको र पूर्व सभापति जोशी संस्थापन पक्षको नेतृत्व गर्नुहुन्छ । नयाँ सदस्यता स्थगनको निर्णयले जिल्लाको सङ्गठनमा दूरगामी असर पार्ने दुबै नेताको भनाइ छ ।
सोलुखुम्बुमा पनि दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३ औँ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट वञ्चित भएका छन् । सोलुखुम्बु काँग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसञ्चारका रुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताउनुहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असर पार्ने सभापति शेर्पाको भनाइ छ ।
सोलुखुम्बु निवासी काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यक रुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुुहुन्छ ।
रौतहट काँग्रेसमा पनि एक हजार नयाँ क्रियाशील सदस्य गुट उपगुटको सिकार भएका छन् । रौतहट काँग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा सङ्गठन बलियो बनाउन आफूले नयाँ सदस्यता वितरण गरेको भए पनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका काँग्रेसजनप्रति घात भएको बताउनुहुन्छ ।
अर्कोतिर, रौतहट निवासी अफताव आलम व्यक्तिगत स्वार्थ र विधान विपरीत वितरण गरिएका नयाँ सदस्यता स्थगन गरेर नेतृत्वले पार्टीलाई विधानसम्मत बनाएको दाबी गर्नुहुन्छ । छ निर्वाचन क्षेत्र रहेको रौतहटमा पार्टीले १, २, ३ र ४ निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयसँगै पार्टीमा १३ औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।
काँग्रेसको १२ औँ महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३ औँ महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ ।
काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौँमा हुनेछ । भीष्मराज ओझा/रासस

प्रतिक्रियाहरु