बैद्य माओवादीको वैधता सकिँदै, छिट्टै प्रचण्ड कित्तामा बिलय हुने

२०७२ माघ २ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारी र एमाओवादीबीच पार्टी एकता हुने भनिए पनि बास्तबमा त्यो वैद्य माओवादी एमाओवादीमा बिलय हुनुभन्दा अरु केही नभएको चर्चा माओवादी चलन थालेको छ । बैद्य माओवादी भित्र अहिले पनि प्रचण्डको कार्यदिशा संशोधनवादी भएको भन्दै दुई पार्टीबीच एकीकरण तत्काल सम्भव छैन भन्ने मत राख्ने नेताहरू थुप्रै छन् । एमाओवादीले समाजवादी क्रान्तिको रणनीति लिएको छ भने बैद्य माओवादीले नयाँ जनवादी क्रान्तिको रणनीति छोडेको छैन । तर यी दुई दलबीच समानता पनि छ, दुबैले दीर्घकालीन जनयुद्धको कार्यदिशा परित्याग गरिसकेका छन भने दुबैले तत्काल शान्तिपुर्ण वाटो अबलम्बन गर्ने निर्णय समेत गरिसकेका छन् । यसैले गर्दा पनि दुबै पार्टी भित्र एकता गर्नु पर्दछ भन्ने दवाव पनि चर्काे छ । अहिले यी दुई पार्टी बीच एकता गर्नु पर्दछ भन्नेहरूले रुसमा मेन्सेभिक र वोल्शेभिकहरूबीच भएको पार्टी एकताको उदाहरण दिने गरेका छन् । एकले अर्काेलार्ई अवसरवादी, संशोधनवादी, उग्रवामपन्थी, विसर्जनवादी आदि विभिन्न आरोपहरू लगाएको भए पनि सन् १९०५ को रुसी क्रान्ति असफल भएको स्थितिमा पैदा भएको निराशा चिर्न यी दुई पार्टी बीच पार्टी एकता हुनु पर्दछ भन्ने लेनिनको भनाईलार्ई अहिले एकता पक्षधरहरूले अघि सारेका छन् । साथै नेपाल मै पनि २०४७ सालमा मशाल, चौम र सर्वहारा श्रमिक संगठन बीच भएको पार्टी एकतालार्ई पनि उदाहरणको रुपमा अघि सार्न थालेका छन् । अहिलेको विशेष परिस्थितिमा माओवादी समुहहरू बीच पार्टी एकता अपरिहार्य रहेको भन्दै प्रचण्ड र बैद्य बीच गम्भीर कुराकानी भएको र यसका लागि बैचारिक, राजनैतिक, सैद्धान्तिक, संगठनात्मक पक्षहरूमा बीचको वाटो निकालेर पार्टी एकताको आधार तयार गर्न गृहकार्य गर्ने सहमति भएको बताइन्छ ।
केही समय पहिलेसम्म स्वयम् मोहन बैद्य नै पार्टी एकताको विषयमा हिचकिचाइरहेको, तर वावुरामको वहिर्गमन र माक्र्सवादको परित्याग पछि नयाँ परिस्थिति उत्पन्न भएको भन्दै प्रचण्ड र बैद्य बीच हालैका दिनहरूमा कयौं गोप्य बैठकहरू भएपछि बैद्य पनि एकताको लागि तयार भएकोले केही महिना भित्र पार्टी एकता गर्ने गरी आधारहरू तयारी गर्ने सहमति भएको बुझिएको छ । २०४७ सालमा पार्टी एकता हुँदा एक पक्ष सामन्तवाद र भारतीय विस्तारवाद दुबैसँग नेपाली जनताको अन्तरविरोध प्रधान भन्ने मत राख्दथे भने अर्काे पक्ष नेपाली जनता र सामन्तवाद बीचको अन्तरविरोध प्रधान भन्ने मत राख्दथे । यसलार्ई मिलाउन बैद्य र प्रचण्डले भारतीय विस्तारवादद्वारा पालित–पोषित सामन्तवादसंग जनताको अन्तरविरोध प्रधान भनेर बीचको वाटो निकालेका थिए । त्यसैगरी माओवाद भन्ने र माओवाद भन्नु हुन्न भन्दै माओ बिचार मात्र भन्ने पक्ष बीचको बीचको वाटोको रुपमा माओवाद वा माओ बिचार भन्ने दुबै पदावली राखिएको थियो । अहिले पनि पार्टी एकताको लागि यस्ता बीचको वाटो वनाउन वैद्य र प्रचण्ड बीच गोप्य सहमति भएको बुझिएको छ । वावुरामको चर्काे आक्रमण र संगठन विस्तारको विरुद्ध पार्टी एकता गरेर कार्यकर्ताहरूमा उत्साह जगाउन प्रचण्ड हतारिएको वताइन्छ । बैद्य र प्रचण्ड बीच पार्टी एकता गराउन बैद्य तर्फवाट हितमान शाक्य, पम्फा भूषाल, सोनाम र एमाओवादीवाट कृष्णवहादुर महरा, लोकेन्द्र विष्टहरू सक्रिय भैरहेको बुझिएको छ ।

प्रतिक्रियाहरु