ओली सरकार भड्खालोमा

२०७२ पुष ३० गते, बिहीबार

काठमाडौं, ३० पुस । मधेसी मोर्चाका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ प्रस्ताव कार्यदलको बैठकमा राखेपछि ओली सरकार भड्खालोमा पर्ने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बिषय प्रवेश भएको बुझिएको छ । मधेसी मोर्चाका नेताहरुले सहमति गर्नको लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ प्रस्ताव कार्यदलको बैठकमा राखेपछि हुन लागेको सहमतिले नयाँ मोड लिएको छ । मोर्चाले अगाडि सारेको मुख्य माग सीमाकंनमा उच्चस्तरीय राजनीतिक समिति गठन मार्फत टुंगो लगाउन सहमति जनाइसकेको छ । तर मोर्चाले सहमतिसंगै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेपछि नयाँ बहस सुरु भएको छ । मधेसी मोर्चाका नेताहरुले ओली नेतृत्वको सरकारले समस्या समाधान गर्न नसकेको, कालोबजारी अनियमितता रोक्न नसकेको भन्दै कडा आलोचना गर्दै आएको छ । सहमति निर्माणलाई ओली नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने अडान राखेपछि प्रमुख तीन दलबीच पनि आन्तरिक छलफल भएको सहभागी एक नेताले बताए ।
सरकार परिर्वतनको माग अगाडि सारेपछि एमाले सहमति भन्दा पनि वार्तालाई पन्छाउदै आएको कार्यदलका सदस्य समेत रहेका मोर्चाका एक नेताले बताए । एमालेका नेताहरुले वार्तालाई महत्व दिएका छैनन् । एमालेकै कारण कार्यदलको बैठक समेत नियमित रुपमा बस्न सकेको छैन मोर्चाका ती नेताले भने,‘ओली सरकार भंग गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ, काम गर्न नसक्ने उखान टुक्का मात्र भन्ने प्रधानमन्त्रीले देश चलाउन सक्दैनन ।’ ओली सरकार परिवर्तन गर्नुपर्ने मोर्चाको मागलाई प्रमुख प्रतिपक्ष दल कांग्रेस समेत समर्थन गरेको ती नेताले दावी गरे । सहमति निर्माणको लागि भन्दै कांग्रेस र मधेसी मोर्चाबीच एक सातासम्म दुई दलको मात्र छलफल भएको थियो । कांग्रेसंगको छलफलपछि मोर्चाले आफ्नो पहिलो बटमलाईन सरकार परिवर्तनलाई बनाएको छ ।

प्रतिक्रियाहरु