भारत र रुसबीच १६ बुँदे सम्झौता

२०७२ पुष १० गते, शुक्रबार

काठमाडौं, १० पुस । भारत र रुसबीच १६ बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त वक्तव्य जारी गरेर सम्झौताको जानकारी दिएका हुन् । दुई देशबीच भारतमा कामोव २२६ हेलिकोप्टर बनाउने विषयमा सहमति भएको भारतीय प्रधानमन्त्री मोदीले वक्तव्यमा उल्लेख गरेका छन् ।
यस्तै परमाणु उर्जामा दुई देशबीच आपसी सहयोग बढाउने सहमति भएको मोदीको भनाई छ । सम्झौताअनुसार अब भारतका दुई स्थानमा रुसले १२ वटा परमाणु रियाक्टर बनाउने छ ।
आगामी २० वर्षभित्रमा ६ वटा परमाणु रियाक्टर बनाइसक्ने रुसी राष्ट्रपति पुटिनले बताएका छन् । भारत र रुसबीच दुई देशका नागरिक तथा कुटनीतिक राहदानी लिएकालाई आवतजावतमा केही सहज बनाउने, हेलिकोप्टर इन्जिनियरिङ क्षेत्रमा सहयोग गर्ने, रेलवे क्षेत्रमा प्राविधिक सहयोग बढाउने, भारतमा सौर्य उर्जा तथा ब्रोडकास्टिङ क्षेत्रमा सहयोग गर्नेलगायतका विषयमा सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि बुधबार रुस गएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु