आज किराँतहरुको महान पर्व उधौली

२०७२ पुष १० गते, शुक्रबार

काठमाडौं, १० पुस। आज किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेसीतिर बसाईं सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् ।
यसैगरी आज नेवार समुदायले योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ । यसरी पूजा गरेमा वर्षभरी अन्नको अभाव नहुने जनविश्वास छ ।
योमरी पूर्णिमाको अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक ¥यालीसहितको कार्यक्रम हुँदैछ । यस दिनलाई धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ ।
पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैंडु पूजा गर्ने चलन छ । बनेपाको धनेश्वर महादेवको मेला लागेको छ ।

प्रतिक्रियाहरु