बेलुकीदेखि पश्चिम तराईमा मौसम बदली हुने

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौ, १७ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बेलुकादेखि पश्चिम तराईमा गर्मी कम हुने अनुमान गरेको छ । महाशाखाले केही दिनदेखि बढीरहेको गर्मी आजदेखि घट्ने अनुमान गरेको हो । महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार त्यस क्षेत्रमा पश्चिमी वायु सक्रिय हुने भएकाले मौसम बदली हुनेछ ।
मौसम बदली भएपछि केही मात्रामा तापक्रम घट्नेछ । यसको प्रभाव आज र भोलि मात्र पर्ने संभावना रहेको उहाँले बताउनुभयो । केही दिनदेखि गर्मीसँगै तातो हावा चल्न थालेपछि पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढेको महाशाखाले जनाएको छ ।
दिपायलमा अस्ति यो वर्षको अहिलेसम्मकै तातो भएको थियो । त्यहाँ ४३ डिग्रीसम्म तापक्रम पुगेको थियो । हिजो ४१ दशमलव ८ डिग्री मापन गरिएको दिपायलमा आज ४१ देखि ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
भारतको राजस्थान मरुभूमीबाट भित्रिएको तातो हावाको प्रभावका कारण पश्चिम तराईमा गर्मी बढेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रमा आशिंक बदली हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु